Logo
Logo

ओली नेतृत्वमा प्रतिक्रान्ति, धरमरमा लोकतन्त्र


- –मिलन लिम्बू


–मिलन लिम्बू

अहिलेका पुस्ताले अब फेरि लोकतन्त्रकै लागि संघर्ष गर्नु पर्दैन भन्ने विश्वास थियो । तर, परिस्थिति त्यस्तो रहेन । उपलब्धि खतरामा पर्दै जाँदा फेरि सघंर्षको विकल्प देखिँदैन । २००७ साल पछिका राजनीतिक विद्रोह तथा संघर्षहरुको आलोकमा संविधानसभाको निर्वाचन हुनु र संविधानसभाबाट संविधान बन्नु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो उलब्धि हो । नेपाली नागरिकले आफ्नो प्रतिनिधि आफै चुनेर आफ्नो संविधान आफै लेखेका हुन । र, आफ्नो शासक आफ्नै वर्गबाट आफै चुन्ने व्यवस्था नागरिक आफैले बनाएका हुन । भनिन्छ, यो व्यवस्था वर्तमानमा विश्व राजनीतिमा सबैभन्दा उत्तम व्यवस्था हो । जुन व्यवस्था नेपालको संविधानले सुरक्षित ग¥योे । वर्तमान राजनीतिक व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्र’का लागि हजारौंले बलिदान गरे । संविधान रक्तरञ्जित इतिहासको साक्षी–पत्र हो । तर, संविधान नै खतरामा पारेर वर्तनमान व्यवस्था नै ‘कोल्याप्स’ गर्ने गतिविधिले तीब्रता पाएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व वर्तमान संविधानका मुख्य विशेषता हुन । यी विशेषता समेटेर संविधान बन्नु नै नेपाली मौलिकता थियो । तर, यी विशेषतामा प्रहार हुँदैछ । र, व्यवस्था नै ‘कोल्याप्स’ पार्ने योजना अनुरुप एकपछि अर्को गतिविधि जारी छ । वर्तमान व्यवस्थाको विपक्षमा अदृश्य तर ठूलो शक्ति नरहेको होइन । जुन शक्ति नेपालमा स्थायीत्व कहिले चाहदैन । तर, नेपाली नागरिकको चाहना अगाडि ति शक्ति पराजित भएका हुन् । आन्तरिक राजनीतिक शक्तिमा समेत वर्तमान व्यवस्था नचाहने नभएका होइनन् । तर, ति शक्तिले पनि अहिलेसम्म वर्तमान व्यवस्था विरुद्ध खुलेरै प्रहार गर्न सकेका छैनन् । बिडम्बन वर्तमान व्यवस्था स्वीकार गरेकाहरुबाट नै व्यवस्था ‘कोल्याप्स’ पार्ने योजना बन्यो र योजनाअनुसार प्रहार जारी छ ।

संविधान निर्माणपछिको यो समय संविधान कार्यान्वयनको लागि हो । संविधानले निर्दिष्ट गरेका हरेक काम सम्पन्न गर्दै संविधान कार्यान्वयन गर्नु पहिलो कर्तव्य थियो । तर, कार्यान्वयनकोे जिम्मा पाएकाहरुबाट नै संविधान विरुद्ध भएका गतिविधिले परिस्थिति असामान्य बन्यो । आफैले बनाएको संविधान विरुद्ध लाग्नु ‘प्रतिक्रान्ति’ हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्दैै ‘प्रतिक्रान्ति’को यात्रा तय गरे । प्रतिक्रान्तिको यात्रामा ओलीले चालेका अनेक कदम मध्ये यो देखिएको कदम हो । अदृश्य रुपमा व्यवस्था विरुद्ध अनेकौ गतिविधि भएका छन् । हरेक गतिविधि ओली सपनाको प्रतिक्रान्ति यात्रासँग सम्बन्धित छन् ।

बयलगाडाको कथा

जसलाई यो व्यवस्था नै मन परेको थिएन, जसले बाध्यात्मक परिस्थितिमा यो व्यवस्था स्वीकार गरेका थिए, उनैलाई यो व्यवस्था संस्थागत गर्ने जिम्मेवारी दिइनु सबैभन्दा ठूलो भूल थियो । ओलीले गणतन्त्रबारे एक टेलिभिजन कार्यक्रममा दिएको अन्र्तवार्ता हरेक नेपालीको मन मस्तिष्कबाट हराएकोे छैन । जुन अन्र्तवार्तामा गरेको टिप्पणी नै गणतन्त्रबारे ओलीको ‘बटमलाइ’ हो । उने भनेका थिए– ‘राजतन्त्रबाट गणतन्त्रमा जानु र वयलगाडाबाट अमेरिका पुग्नु उस्तै हौ ।’ शक्ति संघर्षबाट राजतन्त्र फाल्न सकिन्न भन्ने विश्वास नभएर भन्दा पनि गणतन्त्र मन नपरेका कारण ओलीले बयलगाडालाई गणतन्त्रको संज्ञा दिएका थिए ।

संविधान कार्यान्वयन गर्दै गणतन्त्र संस्थागत गर्ने यो समयमा कम्युनिष्ट शक्ति मिल्नु र ओली अझ शक्तिशाली बन्नु वर्तमान व्यवस्थालाई खतरा बढ्नु थियो भन्ने कुरा पुस ५ गतेको घटनाबाट स्पष्ट हुन्छ । पार्टी एकतालाई संस्थागत गर्नु पर्ने बाध्यतामा पार्टीका नेता कार्यकर्ताले कम प्रश्न गर्नु अर्को भूल थियो । जुन समयको सदुपयोग गर्दै ओलीले व्यवस्थामाथि अनेकौ पटक प्रहार गरेका छन् । केहि समय अगाडी मात्रै नेपालको नामबाट ‘संघीय लोेकतान्त्रिक गणतन्त्र’ नै हटाए ! संविधानमा लेखिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ फगत कालो मसीले लेखिएको अक्षर मात्र थिए । जुन शब्द गणतन्त्रका लागि बलिदान गर्नेहरुको सम्मान थियो, ढुकढुकी थियो । तर, ओलीराजमा हजारौ शहीदको बलिदान एक सनकमा समाप्त पार्ने काम भयो । नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउनु आस्था र व्यवस्था दुबैको मर्ममा प्रहार हो । यो प्रतिक्रान्तिको अर्को रुप थियो ।

धरमरमा प्रदेश

ओली नेतृत्वमा जारी प्रतिक्रान्तिको यो समय उपलब्धिमाथि बारम्बार प्रहार हुँदै आएको छ । उनलाई संघीयता कुनै पनि हालतमा स्वीकार्य छैन । ओली बलमै प्रदेश सरकारहरुलाई निकम्मा बनाइएको छ । ओली प्रतिक्रान्तिको बलियो सारथी पृथ्वीसुब्बा गुरुङले समेत सार्वजनिक रुपमा प्रदेशलाई ‘पङ्गुु’ बनाउने कार्य स्वीकार्य नरहेको बताउँदै आएका छन् । अन्य प्रदेशका मुख्यमन्त्रीले बारम्बार अधिकारहिन प्रदेशको औचित्य छैन भन्दै आएका छन् । तर, महाराज बन्ने लयमा रहेका ओलीलाई कुनै प्रभाह छैन । ओलीले केहि समय अगाडी भनेका थिए– ‘प्रदेश सरकार केन्द्रीय सरकारको प्रशासनिक निकाय हो ।’ संघीयताको विश्व अभ्यासमा प्रदेश संघको प्रशासनिक निकाय कहीँ छैन । ओलीको यो भनाइबाट प्रष्ट हुने कुरा– उनलाई संघीयता स्वकार्य छैन । सोही बुझाइको आधारमा ओलीले बारम्बार संघीय संरचना समाप्त पार्ने कदम चाल्दै आएका छन् ।

समावेशी समानुपातिक प्रतिनिधित्व वर्तमान राज्यव्यवस्थाको सबैभन्दा सुन्दर पक्ष हो । तर, ओलीलाई समावेशी समानुपातिक प्रतिनिधित्व अलिकति पनि स्वीकार्य छैन । राज्यले अवलम्बन गरेको गलत नीतिका कारण राज्यको मूल प्रवाहमा पुग्न नसकेकालाई समेट्ने र समान हैसियतको नागरिक बनाउने परिकल्पना सहित समावेशी समानुपातिक प्रतिनिधित्व संविधानमा व्यवस्था गरिएको हो । तर, ओलीकै नेतृत्वमा समावेशी समानुपातिक प्रतिनिधित्वलाई गलत व्याख्य गर्दै आन्तरिक द्वन्द्वको वातावरण बनाइएको छ । धेरै क्षेत्रमा समावेशी प्रतिनिधित्व आघोषित रुपमा खारेज गरिएको छ । प्रतिक्रान्तिकै दौरानमा यो व्यवस्था खारेर गरेर राज्यको चरित्र पुरानै कित्तामा फर्काउने कामले निरन्तरता पाएको छ ।

धर्मनिरपेक्षता

धर्म निरपेक्षता वर्तमान राज्यव्यवस्थाको अर्को सुन्दर पक्ष हो । तर, ओली नेतृत्वमा नेपाललाई धार्मिक राष्ट्र बनाउने अभियानले तिब्रता पाएको छ । प्रतिक्रान्तिको यो अर्को भयानक रुप हो । नेपालमा फरक धार्मिक आस्थामाथि सबैभन्दा धेरै प्रहार यसै समयमा भएको छ । संविधानत् राज्यको धर्म हुँदैन । तर, राज्यलेको चरित्र त्यस्तो छैन । जसरी पनि हिन्दू राष्ट्र कायम गर्न योजनावद्ध काम हुँदै आएको छ । बारम्बारको ओली अभिव्यक्ति र उनका पछिल्ला निर्णहरुले यो कुरा पुष्टि गर्छ । देश कोरानाले आक्रान्त हुँदा, आमा नागरिक सामान्य भेन्टिलेटर नपाएर छटपटाइरहेको बेला ओली सरकार राम मन्दिर बनाउन करोडौं रकम खर्च गर्न व्यस्त हुनुले धर्मप्रति ओली आशक्ति प्रष्ट हुन्छ ।

सत्ता र शक्तिमा ओली उदयपछि सबैभन्दा धेरै जातिय विद्वेष फैलाउने काम भएको छ । जातिय विद्वेष फैलनमा ओली नीतिको ठूलो भूमिका रहन्छ । आदिवासी जाजाति, मधेसी र दलित अल्संख्यकप्रति ओली दृष्टिकोण अधिक जातिवादी छ । संविधानले जातिय विभेदलाई अपराध मान्छ । तर, ओली सरकारको यो समयमा जातिय विभेद् बढोत्तर पायो । जातिय विभेद्मा संलग्नलाई कारवाही गर्ने भन्दा पनि राज्यतहबाटै संरक्षण गर्ने काम भएको छ । आज पनि जातकै आधारमा कसैले ज्यान गुमाउनु अधिक पीडायुत्त विडम्बना हो । रुकुम घटना त्यसको प्रतिविम्ब मानिन्छ ।

हिन्दू राष्ट्र ?

मुख्यतः हिन्दू राष्ट्र ओली ‘एजेण्डा’ हो । विगत र वर्तमानले यो कुरा पुष्टि गर्छ । कम्युनिष्ट स्कुलिङ भएतापनि धर्मप्रति ‘ओली आशक्ति’ कहीँ लुक्दैन । उनका हरेक अभिव्यक्ति र निर्णय हिन्दू धर्मबाट प्रेरित हुँदै छ । प्रतिक्रन्तिको यो यात्रामा उनको एक मात्र ‘एजेण्डा’ हिन्दू राष्ट्र हो । अब खुलेरै हिन्दू राष्ट्र चाहने शक्तिको नेतृत्व गर्दैनछन् । यसको अर्थ अबको ध्रुवीकरण ‘गणतन्त्र भर्सेस हिन्दू राष्ट्र’ हुनेछ । ओली नेतृत्वमा हिन्दू राष्ट्रका लागि बनेका हरेक योजना कुनै न कुनै रुपमा सार्वजनिक भएका छन् । ओली नेतृत्वमा कांगेसका केहि हिन्दूवादी र राप्रपा लगायतका शक्ति मिलेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रहार हुनेछ ।

बलिदानपूर्ण सांघर्षको बलमा स्थापित वर्तमान व्यवस्था विरुद्ध प्रहार हुनुमा ओली मात्र जिम्मेवार छैनन् । ओलीलाई व्यवस्थामाथि प्रहार गर्न सहज बनाउने सबै शक्ति यसका कारक हुन । गणतन्त्रका लागि संघर्ष गरेका राजनीतिक शक्ति र गणतन्त्रका लागि मञ्जुर भएर गणतान्त्रिक यात्रामा समाहित भएका शक्तिले प्रतिक्रान्तिको खतरा आंकलन गर्न नसक्नु वर्तमान संकटको कारण हो । त्यसैले अब फेरि व्यवस्थाकै लागि सघंर्ष गर्नु पर्ने दिन आएको छ । अबको मुख्य एजेण्डा प्रतिक्रान्तिलाई रोक्दै उपलब्धिलाई रक्षा गर्नु हो । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना एउटै मात्र विकल्प हो । जसका लागि सबै दल, नागरिक समाज अहिले सडक आन्दोलनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्