Logo
Logo

नेकपाका कर्मचारी को कता ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । नेकपा विभाजनको असर कर्मचारी संगठनमा पनि देखिएको छ । मूल पार्टीको विभाजनले कर्मचारीहरुको एउटा होइन, दुई वटा संगठनमा फुट आउने अवस्था देखिएको छ ।तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी संंगठन तथा तत्कालिन माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन दुवै फुटको संघारमा छन् । निजामती कर्मचारी संगठनको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहृमत देखिएको छ भने, केन्द्रीय समिति ५०–५० प्रतिशतको अवस्थामा छ । पहिलो कर्मचारी संगठन भएकाले पुरानो नामका लागि ठूलै मारामार हुने देखिन्छ । तर, सत्ताको प्रभावका आधारमा ओली गुटले आधिकारिकता पाउने कुरामा ओली गुट ढुक्क छ ।

संगठनका अध्यक्ष केदार देवकोटा ओलीको गुटमा खुलेका छन् भने संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे माधव नेपाल पक्षमा स्पष्ट छन् ।
वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला यसअघि नेपाल समूहमा रहेकोमा हाल ओली गुटमा लागेका छन् ।

पूर्वअध्यक्ष भोला पोखरेलसमेत गुट फेरेर ओली गुटसँग निकट भएका छन् । हाल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष रहेका उनी अध्यक्ष हुन ओली गुटमा लागेका थिए । तर, अब संगठन फुटेर चुनाव हुँदा कांग्रेस निकट युनियन पहिलो हुने लगभग प्रष्ट भइसकेको छ ।

संगठनका उपाध्यक्षमध्ये भुवन राई, श्रवण गुरुङ, धनश्याम सापकोटा, यमबहादुर खत्री, मोहन गिरी र जीवन भण्डारी नेपाल पक्षमा लागेका छन् । नौतम पोखरेल, रामचन्द्र जोशी, भवानी दाहाल भने ओली गुटमा लागेका छन् ।

महासचिव रेवन्त गौतम पनि नेपाल पक्षमै छन् । उपमहासचिवहरु राजेन्द्र श्रेष्ठ, चेतनाथ न्यौपाने र रामचन्द्र अधिकारी नेपाल पक्षमै छन् । ६ सचिवमध्ये बेद खतिवडा, भवानी खतिवडा, शान्ति लुइँटेल, सीता गुरुङ र केदार अधिकारी नेपाल पक्षमा खुलेका छन् ।

उता माओवादी निकट संगठनमा पनि अध्यक्ष एकातिर र महासचिव अर्काेतिर लागेका छन् । अध्यक्ष हरि रावल प्रचण्ड पक्षमै छन् भने, कोषाध्यक्ष प्रभात शाह रामबहादुर थापा बादल निकट भएकाले ओली गुटमा लागेका छन् । समग्रमा भने, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा रावलको पक्षमा करिब ८० प्रतिशत छन् ।

प्रतिक्रिया दिनुहोस्