Logo
Logo

बाजुरामा भुवापर्व सुरु, यो वर्ष एक दिन मात्रै मनाइने


- नन्दा थापा


बाजुरा, २९ पुस । बाजुरामा यो वर्ष भुवा पर्व मंगलबार शुरु भएको छ । प्रत्येक वर्ष पुसे औँशीको अघिल्लो दिनदेखि शुरु गरिने भुवापर्व बाजुरा, बझाङ, अछामलगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँपछिको दोस्रो ठूलो पर्व हो । त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ ।

बाजुराका नौवटै गाउँपालिका र नगरपालिकामा यो पर्व निकै रमाइलो गरी मनाइन्छ । रातभरि मुढा बालेर देउडा, भारीखेल, भोस्सोलगायतका विभिन्न खेल छुट्टाछुट्टै खेल्ने चलन छ । आफ्नै रीति संस्कृतिको जगेर्ना गर्न यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइने भुवापर्वका जानकार बडिमालिका नगरपालिका–९ गोरख थापा बताउँछन् । यो पर्वमा गाउँमा छैठ खेल्ने चलन पनि छ ।

घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैठ माग्ने चलन छ । छैठमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबडा मान्यजनले आशीर्वाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोजन गर्ने चलन यस पर्वको अर्को विशेषता हो ।

यस पर्वमा साविकको ब्रह्मतोला गाविसमा हरिनु खेल्ने चलन छ । स्थानीयवासी बसन्त थापाका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई शृंगार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने र रमाइलो गर्ने चलन हो । यो पर्वमा राँके जुलुस पनि निकालिन्छ । स्थानीय गोरे विकका अनुसार पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालोको आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँके जुलुस निकाल्ने परम्परा छ ।

बाजुरा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा यो बर्ष हिजोराती देखी सुरु भएर आज बेलुका समापन गरिदैछ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । यस बर्ष पौषको अन्तीममा भुवा पर्ब परेकोले २ दिन मात्रै अर्थात २८ र २९ गते मात्रै खेलीने भएको छ । भुवा पर्व गाउँ अनुसार ३ दिन देखी ५ दिन सम्ममा चलाउने यो पर्व भोली देखी माघ महिना लाग्ने भएकोले आजै समापन हुने भएको छ ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व अर्थात् पौष औँसीदेखि सुरु हुने गर्दछ । दशैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्