Logo
Logo

आज माघे संक्रान्ति, नेपालका विभिन्न जातिले धुमधामका साथ मनाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । आज माघे संक्रान्ति, अर्थात माघ एक गते । माघे संक्रान्ति नेपालका विभिन्न जाती तथा समुदायले सांस्कृतिकरुपमा मनाउँने गर्छन् ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने यो दिन नेपाली समुदायका आ—आफ्नै विशेषता र सांस्कृतिक महत्व रहने गरेका छन् । आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ । उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो हुने गर्दछ । आजबाट हिउँद घट्दै जाने र बसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ । सनातन संस्कारमा यो दिन तिलको अलगै महत्व रहने गरेको छ । होमजाप गर्न चारु बनाउन होस् वा पूजा, दान या पितृकर्म अनि शुभकार्यमा तिल अपरिहार्य रहने गरेको छ ।


माघे संक्रान्तिका दिन तिलको छुट्टै महत्व रहने गरेको छ । तिलको महत्व बाहेक घ्यू, चाकु, मुरिको लड्डु अनि च्यूराको लड्डु तयार गरिन्छ । तरुल र सख्खरखण्ड, पिडालु उसिन्दै खिचडी खाने परम्परा रहँदै आएको छ । मिथिला क्षेत्रमा खिचडी बनाउने परम्परा रहेको छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु तथा पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड रहन्छ, यसलाई मकर नुहाउने पनि भनिन्छ ।
नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवनी, काठमाडौंको शंखमुल तथा बागमती किनारमा श्रद्धालुहरुको घुँइचो रहन्छ । विविध संस्कृति रहेको नेपालमा आज मगर तथा थारु समुदायले माघी पर्व मनाउने गर्छन् । थारु समुदायले यो दिन नयाँ वर्षका रुपमा मनाउँछन् । येले दुगंका रुपमा मनाउने यो पर्वमा मुसाको परिकार बनाउने चलन छ ।
मगर जातिले पनि विशेष पर्वका रुपमा माघे संक्रान्तिलाई मनाउने गर्छन् । यो समुदायमा आज तारो हान्ने खेल प्रचलनमा रहेको छ । वन तरुल विना मगरहरुको संक्रान्ति अधुरो हुने भएकाले उनीहरुले संक्रान्ति अघिनै तरुलको जोहो गर्ने गर्छन् ।
नेवार समुदायमा पनि अलगै महत्व बोकेको यो पर्व घ्यूचाकु सँल्हु नामले मनाउने गरिन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । काभ्रेपलाञ्चोकको पनौतिमा ऐतिहासिक मकर मेला लाग्नेगर्दछ । हरेक नेपालीलाई जोड्ने माघे संक्रान्तिको विशेष महत्व रहने भएकाले आज सार्वजनिक विदा पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्