Logo
Logo

नेपाली भूमि मिच्दै महाकाली नदीमा भारतले तटबन्ध बनायो, सरकार खोज्दै दार्चुलावासी


- दृष्टि न्युज/संवाददाता


दार्चुला, ५ माघ । नेपाली भूभाग हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको भारतले फेरी महाकाली नदी मिचेर तटबन्ध निर्माण शुरु गरेको छ । महाकाली नदीमा आउने बाढीले विगतमा दुवैतर्फ कटान गरेपछि भारतले खलंगाको सीमा क्षेत्रमा रहेको नेपाली भूमि नै मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको हो । महाकाली नदीको बहावलाई साँघुरो बनाउने गरी तटबन्ध बनाउन थालिएपछि खलंगावासी त्रसित छन् । नेपाली पक्षबाट पटक–पटक पत्र काटेर काम रोक्न आग्रह गरिए पनि अटेर गर्दै भारतीय पक्ष तटबन्ध निर्माणमा जुटेको हो ।

भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षती व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित भएका हुन । सीमा क्षेत्रका नदीको वहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमति बिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर, दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ भोराबगर क्षेत्रमा भारतले सन्धि पालना त परै जाओस्, नेपालले पठाएको पत्र समेत वास्तै नगरी तटबन्ध निर्माण गरिरहेको हो ।

महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर भारतले तटबन्ध निर्माणको काम बढाएको छ । महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर तटबन्ध निर्माणको काम निरन्तर छ । तटबन्ध निर्माण रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई एक महिना अगाडी नै पत्र पठाइसकेको छ । तर, भारतीय पक्षले नेपालले पठाएको पत्र वेवास्ता गर्दै निर्माण जारी राखेको हो ।

महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा भारतीय पक्षले रोकेको थियो । सीमा नदीमा आफूखुशी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा टाढा बाँध लगाउन भन्यो । भारतको अनुरोध पछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको पारीपट्टि भारतले हाल नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।

अहिले भारतले आफूखुशी तटबन्ध निर्माण जारी राखेको ठाउँ बाढी अघि पूरै नेपालकै हो । बाढीले स्वरुप फेरे पनि यो भूभाग नेपालकै हो । बाढी अघि यो क्षेत्रमा जिल्ला वन कार्यालय, भू–संरक्षण तथा अन्य सरकारी कार्यालय थिए । भारतले मनपरी बनाइरहेको संरचनाको बारेमा सरकारले भारतसँग जवाफ माग्नुपर्ने र समस्या समाधान गर्नुपर्ने स्थानीय रघुवीरसिंह ठगुन्ना बताउँछन् ।

दार्चुला जिल्ला प्रशासनले निर्माण रोक्न भारतको धारचुला पिथौरागढका उप–जिल्ला अधिकारीलाई पुस २, पुस ५ र पुस २० गते गरी तीन पटक पत्राचार गर्यो । तर, पत्रको वेवास्ता गर्दै निर्माणलाई तीब्रता दिएको छ । नदीतर्फ ढुंगामाटो खोतल्दै डोजरहरू चलिरहँदा नेपाली मूकदर्शक भएर बस्नु परेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले यस विषयमा सरकारलाई जानकारी गराएको बताए । गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै भारतीय पक्षले बिना सहमति तटबन्ध निर्माण गरिरहेको जानकारी गराउँदै पत्राचार गरिएको भएपनि परराष्ट्रबाट समेत वेवास्था गरिएको पोखरेलको भनाइ छ ।

महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले पनि भारतले बनाइरहेको तटबन्धका कारण एकातिर नेपालको भूमि मिचिने र अर्कोतिर नेपालले बनाएको तटबन्ध संरचना भत्किने खतरा छ । भारतले अहिले निर्माण सुरु गरेको भाग नेपालको बगर क्षेत्र हो । अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले विन्दु किटान गरिसकेको हुनाले त्यही आधारमा संरचना बनाउनुपर्ने दार्चुलावासीको माग छ ।

नेपालले आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि आपत्ति जनाएको भारत वार्तामा बस्न चाहँदैन । तर, यसरी निरन्तर दार्चुलामा अवरोध सिर्जना गरिरहन्छ । सरकारका मन्त्री पनि सार्वजनिक कार्यक्रममा नक्सा जारी गरेको विषयलाई लिएर भाषणवाजी गरिरहेका छन् । तर, दार्चुलावासीले भोगिरहेको निरन्तरको पीडा भने कसैले महसूस गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्