Logo
Logo

बेवारिसे शवको व्यवस्थापन गर : मानव अधिकार आयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । राष्ट्रिय मानव अधिकार आयोगले बेवारिसे शवको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । आज ( मंगलबार) आयोगका प्रवक्ता एवं सह–सचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बेवारिसे शवको अस्थायी रुपमा व्यवस्थापन गरेर अभिलेख राख्न सरकारलाई निर्देशन दिएका हुन् ।

पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका माग राखेर माइतीघरमा धर्ना चलिरहँदा आयोगले सरकारलाई सोही विषयमा निर्देशन दिएको हो । माइतीघरमा डा.सुगम केसी, सुनील महर्जन र रोहित श्रेष्ठ १० दिनदेखि बेवारिसे शवको तथ्याङ्क संकलनको माग गर्दै आएका थिए ।

मानव अधिकार आयोगले जारी गरेको विज्ञप्ति

‘आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परा अनुरूप प्रत्येक व्यक्ति र उसको परिवारले मृतकको अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न, शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउनुपर्ने’ – विज्ञप्तिमा भनिएको छ । आयोगले पहिचान नखुलेका शवको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई शवको अभिलेख दुरुस्त हुने गरी अस्थायी रुपमा व्यवस्थापन गर्न सरकारलाई ३ वर्ष अघि २०७४ फागुन २ गते सिफारिस गरेको पनि स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्