Logo
Logo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निषेधाज्ञा जारी


- दृष्टि न्युज/संवाददाता


रुकुम पश्चिम, ६ माघ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारमा निषेधाज्ञा जारी गरिएको छ । नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप रोक्न जिल्ला प्रशासन कार्यालयले आज (मंगलबार) साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा गरेको प्रशासनद्वारा जारी पत्रमा भनिएको छ ।

निषेधाज्ञा जारी गरिएको पत्र

प्रहरीले यसअघि झडप नियन्त्रण गर्न ९ राउण्ड हवाई फायर समेत गरेको थियो । कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा ३ जना वडाध्यक्षसमेत कुटिएका छन् । आठबीसकोटमा नेकपा प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलमा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो ।

उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलमा सहभागी कांग्रेसका नगर सभापति कमल शाहले बताए ।

शाही कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि कांग्रेस समर्थित कार्यकर्ताले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । जिल्ला सदरमुकाबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाइएपछि अहिले स्थिति नियन्त्रणमा आएको छ ।

झडपमा १ जना प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरीका १ जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले वडाअध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ । विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झडपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्