Logo
Logo

सेताम्मै दामन : हिउँ खेल्दै रमाउँदै पर्यटक


- दृष्टि न्युज/संवाददाता


हिउँमा रमाउँदै पर्यटक बागलुङ जिल्लाको पर्यटकीयस्थल थामाको नेटामा शनिबार हिउँमा रमाउँदै आन्तिरक पर्यटक ।


दामन, २६ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात सुुरु भएको हो ।
आज शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।


बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् ।
दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौँबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुग्नुभएका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए ।
विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एशोसिएशनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताउनुभयो । होटलको कोठाबाट बाहिर निस्कदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए ।
एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ ।
दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिए ।
राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।
समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ । रासस

हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा रमाउँदै सिमकोटका स्थानीय युवाहरु ।

प्रतिक्रिया दिनुहोस्