Logo
Logo

ईश्वर पोखरेलेको टिप्पणीले नेकपामा तरंग


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेकपाका नेता ईश्वर पोखरेलको टिप्पणीले पार्टीभित्र खैलाबैला मच्चिएको छ । पार्टीका दुई अध्यक्षबीच मत बाझिने भनाई आइरहेका बेला पोखरेलले अध्यक्ष प्रचण्डविरुद्ध कटाक्ष गरेका छन् ।


शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी एकता घोषण गर्दा गम्भीर छलफल र समिक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुभाग्य हुने भन्दै कटाक्ष गरेका हुन् । पछिल्ला समय भेनेजुयला प्रकरणमा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर दुई पार्टीबीच विवाद बढेको छ । प्रचण्डले सल्लाहबिना नै वक्तव्य जारी गरेपछि त्यो ‘स्लिप’ भएको केपी शर्मा ओलीको प्रतिक्रिया थियो । तर, प्रचण्डले आफू आफ्नो बक्तव्यमा अडिग रहेको बताएका थिए । यही सन्दर्भमा पोखरेलले प्रचण्डमाथि कटाक्ष गरेका छन् । जसले पार्टीभित्र थप तरंग उत्पन्न भएको छ । पार्टीमा भावी नेतृत्वमा दाबी गर्दै आएका पोखरेल माओवादीसँगको पार्टी एकतामा सन्तुष्ट छैनन् ।
यस्तो छ उनको फेसबुक स्टाटस–

(१) परिस्थिति :

– अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो । यसको संवैधानिक र राजनीतिक घोषणा त भयो – तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन् । गरिदैछन्- हुँदैछन् । अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिदैछ । अभ्यास र आदत एकातिर ,अवस्था र आवश्यकता अर्कोतिर ।

– सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो । स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेकोछ । तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन् । त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न – डढेलो सल्काउन ज्यान फालेर लागेका छन् , पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् । त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो । र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आमरूपमा आउने गरेका – उठ्ने गरेका प्रश्नहरू , जिज्ञासा , आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ । धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरीछ ।

(२) दुइटा कम्युनिष्ट पार्टी विचको एकता – 
– यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ । एकताका सन्दर्भमा यी मूलत: भावनात्मक पक्ष हुन् । एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष , संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो । एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन । अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिदै छलफल वहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक वहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ । आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको , अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया ‘ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन । 
– सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै – बन्नै सक्तैन । 
– कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन – ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । 
आज नेकपा ( एमाले) र माओवादी केन्द्र विच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले यही बाटो हिंड्नुपर्छ ।चुनौतीपूर्ण अभिभारा पुरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन् – यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ । टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पुरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्