Logo
Logo

आइपुग्यो कोरोना विरुद्धको खोपः नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?


प्रदीपराज दाहाल


काठमाडौं, ८ माघ । छिमेकी देश भारतले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको ५ दिनमै नेपालमा आइपुगेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका बेला भएको सहमति अनुसार भारतले नेपाललाई १० लाख खोप प्रदान गरेको हो । यसअघि बुधबार कोरोना विरुद्धको खोप नेपाल ल्याउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी गराएसँगै बिहीबार कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर औपचारिक रुपमा खोप हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस विरुद्धका सयभन्दा बढी खोप ‘क्लिनिकल ट्रायल’ मा छन् । १३ वटा खोपहरु परीक्षणको अन्तिम चरण अर्थात तेस्रो चरणका छन् । त्यो चरणमध्ये पनि करिब तीन वटा खोप निर्माता फाइजर, मोदेर्ना, अक्स्फोड–एस्ट्राजेनिका नामका कम्पनीले आफ्नो प्रारम्भिक नतिजा देखाएका छन् । त्यो भनेको अहिलेसम्म परीक्षण भएको उत्पादनकर्ताको आफ्नो नतिजा हो । यही सिलसिलामा हेर्दा फाइजर कम्पनीले बनाएको खोपलाई बेलायतले आम प्रयोग गरिसकेको छ । भारतले नेपाललाई प्रदान गरेको खोप चाहिँ ‘कोभिशिल्ड’ हो ।

पोख प्रयोगको अभ्यास
सुरुमा चर्चा गरौं, खोप लगाउन सुरु गरेका मुलुकबाट । सबैभन्दा पहिला कोरोना विरुद्धको खोप बेलायतले लगाउन सुरु गर्यो । उसले ‘फाइजर’ खोप सुरुमा ९० वर्षीय एक वृद्धलाई लगाएर सुरु गरेको थियो । उमेर समूहअनुसार कोरोना खोप लगाउने निर्णय गर्यो । सबैभन्दा धेरै जोखिममा रहेको समूहले सबैभन्दा पहिला खोप पाए । बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआई)ले स्याहार केन्द्रमा काम गर्ने र बसोबास गर्ने मानिसलाई सबैभन्दा पहिला खोप बितरण गर्यो । त्यसपछि ८० वर्ष नाघेका मानिस र नेशनल हेल्थ सर्भिस (एनएचएस)का कर्मचारीलाई यो खोप प्रदान गरिएको थियो ।

नेपालमा कसरी हुन्छ वितरण ?
बिहिबार आइपुगेको १० लाख खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सार्वजनिक क्षेत्रका कर्मचारीलाई दिइनेछ । त्यसपछि ५५ वर्षभन्दा माथिका दीर्घरोगी प्राथमिकता सूचीमा राखिएको छ । तर, यि सबै खोप भने संस्थागत रुपमा वितरण गरिने स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए । स्वास्थ्य सेवा विभागले यसअघि नै स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नामावली माग गरिसकेको छ । खोप अभियान सञ्चालनका लागि कुन समयमा कसले कहाँ खोप प्राप्त गर्ने विवरण समेटिएको सूची तयार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कसरी पठाइन्छ देशभर खोप ?
मन्त्रालयका अनुसार बिहिबार आएको सबै खोप स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिएको छ । उक्त खोप एक साताभित्र वितरण गरिनेछ । विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोप वितरण गरिनेछ ।

कसले लगाइदिन्छन् खोप ?
सरकारका अनुसार हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन तयारीका लागि मंगबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भइसकेको छ । अनुदानमा आएको १० लाख डोज खोप वितरण गर्न सकिने महाशाखाका प्रमुख डा. गौतमले बताए ।

कति सुरक्षित भारतीय खोप ?
भारतमा गत शनिबारदेखि मात्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । भारतका एक सरसफाई कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन १ लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई दिइएको थियो । कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन ३ हजार ३ सय ५१ खोप केन्द्र सञ्चालनमा थिए । तर, कोरोना खोप कार्यक्रम अन्तर्गत खोप लिएका धेरै मानिसहरूमा यसको नकारात्मक असर देखिएको छ । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५ सय ८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने ७ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने परेको छ । भारतमा कोरोना विरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गत शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।

नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?
नेपालका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भने भारतमा देखिएको यि घटनालाई अपवाद मान्नुपर्ने बताउँछन् । चार लाखलाई खोप लगाउँदा दुई जनाको मृत्यु त्यो पनि अरु कारणले भएकाले यसलाई सामानय रूपले हेर्नुपर्ने उनको तर्क छ । डा. पाण्डे भन्छन्– ‘नर्वेमा फाइजर खोप लगाउँदा २३ जनाको मृत्यु भयो । किनभने फाइजर नयाँ प्रविधिले बनाइएको खोप थियो । तर, कोभिशिल्ड पुरानै प्रविधिले निर्माण गरिएकाले अरुभन्दा यो खोप सुरक्षित छ ।’
‘अब नेपालमा पनि यो खोप सुरुमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई लगाइनेछ । ‘खोप लगाएपछि ज्वरो आउने, जिउ दुख्ने, खोप लगाएको ठाउँ सुन्निने सामान्य भएकाले कसैले पनि डराउनु पर्दैन । एक सातापछि त्यो आफै हराउँदै जानेछ’ डा. पाण्डेको दावी छ ।

अन्तत, कोरोनाविरुद्धको खोप नेपालमा आएको छ । तर, खोप आएपछि अब सबै ठीक हुन्छ भन्ने अवस्था होइन । किनकी खोप सबैले एकैपटक पाउँदैनन् । त्यसैले मासमा खोप लाउने समय नआएसम्म कोरोनाबाट बच्न स्वास्थ्य सतरकर्ता यथावत राख्नुपर्ने जनस्वास्थ्य विज्ञ वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्