Logo
Logo

हिलाम्मै सडक, यात्रुलाई सास्ती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ माघ । निर्माणाधिन चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।
काठमाडौंको शंकरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको दुखेसो पोखेका छन् ।
सडकमा भएका ठूला खाल्डो र सडक दायाँबायाँ बढाउने कार्य भइरहेकाले चाबहिलबाट साँखु जाने सवारी साधन ठाँउठाँउमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ ।

तीन दिनको झरीले यो सडकमा यात्रा गर्न निकै सास्ती छ । तीर्थयात्री प्रकाश कुँवरले बताए । उनले भने, ‘मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको छ, स्कुटर लान त झन निकै समस्या छ । मोटरसाइकलको आधा भाग हिलोमै गाडिन्छ ।’
लामो सवारी जाम पर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन धेरै हुने गरेकाले सो सडकमा यातायातको निकै चाप हुने गरेको छ । गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा तीर्थयात्री तथा सर्वसाधारण हिलाम्मे सडकमा पैदलकै भरमा मन्दिर जान बाध्य छन् ।
चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिकमार्ग छैन । सोही एउटै सडकको प्रयोगमार्फत मात्रै साँखु पुग्न सकिन्छ । सोही कारणले पनि सवारी जामको समस्या खेप्न बाध्य हुनुपरेको रामप्रसाद दुलाल बताउँछन् ।
सरकारले गत विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्