Logo
Logo

स्वरोजगारका लागि च्याउ र सिस्नु खेती गरिँदै


- दृष्टि न्युज/संवाददाता


मकवानपुर, ९ माघ । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ ।

पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती गर्दै आएका छन्। करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्प्रेरित  भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।

विसं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ । थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।

उत्पादित च्याउलाई बजारको कुनै समस्या नभएको उनीहरुकाे भनाइ छ । उत्पादित च्याउ आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । च्याउको मूल्य प्रतिकेजी रु २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको पौडेलले बताए । जय श्रीमन्नारायण कृषि फर्म दर्ता गरी व्यवसायलाई अझ थप विस्तार गर्ने उहाँको योजना रहेको बताइएको छ ।

बिहान ३ बजे च्याउ टिपेदेखि शुरु हुने पौडेलको दैनिकी साँझ च्याउको पोकामा पानी हालेपछि मात्र सकिन्छ । सहकारी संस्थाबाट ऋण लिएर पौडेलले व्यावसायिक रुपमा च्याउ गर्दै आएका छन् । हाल चुनियाँ बजारबाट २० वटा टनेल र हेटौँडा–७ न्यूरेनीबाट २० वटा टनेलबाट च्याउ बिक्री गरिरहेका उनले दैनिक चारदेखि पाँच क्विन्टल च्याउ हेटौँडा बजारमा खपत भइरहेको बताए ।

पौडेलका अनुसार आफूहरुले उत्पादन गरेको च्याउ हेटौँडा बजारमा नै खपत भइरहेको छ । च्याउ खेती गर्ने किसान बढ्दै गएमा हेटौँडा बजारले मात्र खपत गर्न नसक्ने उनले बताए । हेटौँडा बजारभन्दा बाहिर च्याउ पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । एक दिन बिक्री नहुँदा सबै सामान बिग्रिन्छ । हेटौँडाबाट नजिकको बजार सिमरा, वीरगञ्ज र नारायणगढसम्म च्याउ पुर्‍याउन सकिन्छ, त्योभन्दा टाढा लैजाँदा बिग्रने सम्भावना रहेको उनले गुनासो गरे ।

आफ्नै जिल्लामै दक्ष जनशक्ति भएको खण्डमा जिल्लाकै कोही व्यक्तिले रोजगारी पनि पाउँथे र महँगो शुल्क तिरेर कामदार पनि ल्याउन पर्दैन थियो । इलाम जिल्लाबाट आएका कामदारको समूहले पौडेलको च्याउखेतीमा काम गरिरहेका छन् ।

आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँदै उनले भने, ‘रोजगारीका लागि देशका विभिन्न शहरदेखि विदेशमा भौंतारिने युवालाई गाउँघरमै च्याउ खेती गर्न सल्ला दिन्छु ।’ उनले च्याउखेती गर्न चाहानेलाई प्रशिक्षणसमेत दिने गरेका छन् । २८ वर्षीय पौडेल आफ्नै उमेरका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । कृषि कर्मलाई अझ विस्तार गर्दै अरु तरकारी पनि आफ्नो फार्मले उत्पादन गर्ने लक्ष्य रहेको उनको विचार छ ।

प्रतिक्रिया दिनुहोस्