Logo

नेपाली विद्यालयमा ‘नेपाली शिक्षक’ नै छैनन् !


प्रदीपराज दाहाल


– प्रदीपराज दाहाल

धनुषा, ९ माघ । धनुषाको श्री माध्यमिक विद्यालय । जहाँ ९ जना शिक्षक छन् । तर, वर्षौयता कक्षा ६ देखि ८ सम्म नेपाली विषय पढाइ हुँदैन । शिक्षक नै नभएपछि पढाइ हुने कुरै भएन ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २२ मा २०१७ सालमा स्थापना भएको यो विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षक भने ९ जना मात्र । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले त नेपाली विषय पढ्न नै पाएका छैनन् । निम्न माध्यमिक तहबाट माध्यमिक तह बनाइएको भएपनि विषयगत शिक्षक नहुनुले विद्यालयको दुर्दशा चित्रण गरिरहेको छ । विद्यार्थी अहिलेसम्म नेपाली राम्रोसँग पढ्न नपाएको गुनासो गर्छन् । कक्षा ६ देखि ८ सम्म मात्र होइन एसईई दिने तयारीमा रहेका विद्यार्थी पनि ‘पार्ट टाइम’ शिक्षकबाट अध्ययन गरिरहेका छन् । त्यो पनि अंग्रेजी, विज्ञान र गणित विषय मात्र ।

नेपाली विषयको पढाइ हुँदैन, परीक्षा भने हुन्छ । तर, के लेखेर पास भए होलान् विद्यार्थी ? जवाफ कोहीसँग छैन । अभिभावकलाई थाहा छ, आफ्ना बालबालिका पढीरहेको विद्यालयमा नेपाली शिक्षक छैनन् । तर, उनीहरूले विद्यालयमा गएर नेपाली शिक्षक खोइ भनेर सोधेका छैनन् । स्थानीय तहको निर्वाचनपछि नवनिर्वाचित वडा अध्यक्ष शिवरत्न पाण्डेले वाचा गरे अनुसार माध्यमिक तहको अनुमति त दिलाए । तर, शिक्षक दिलाउन सकेनन् । बल्ल सुरसार गर्दैछन् । विद्यालयका निमित्त प्रधानाध्यापक उमाकृष्णलाल कर्ण सरुवा भएर आएको डेढ वर्ष भइसक्यो । तर, उनले पनि शिक्षक ल्याउने वाचा पूरा गर्न सकेका छैनन् । स्थानीय तहले दरबन्दी नगराउँदा समस्या भएको निमित्त प्रधानाध्यापक आरोप लगाउँछन् ।

सामुदायिक विद्यालयमा परीक्षा दिने माध्यम भाषा नै नेपाली हो । तर, विद्यार्थीले त्यही विषय पढ्न पाएका छैनन् । पढ्दै नपढेको विषयमा परिक्षा लेख्ने र पास हुने कुरा हुँदैन । त्यसैले केहि विद्यार्थी त लुकेर अर्को विद्यालयमा नेपाली पढ्दैछन् । नेपालमा नेपाली भाषा नपढे नजानेसम्म केहि हुँदैन । माध्यम भाषा नै नेपाली भएकाले सबैले नेपाली पढ्नै पर्ने बाध्यता छ । यस्तो अवस्थामा विद्यार्थीले नेपाली विषय नै पढ्न नपाउनु विडम्बना हो ।

प्रदेश नम्बर २ मा अधिकांश मानिसको बोल्ने भाषा मैथिली र भोजपुरी हो । नेपाली पनि बोल्छन् तर, सहायक मात्रै । सबै उमेरका मानिस मैथिली र भोजपुरी भाषामै अभ्यस्त छन् । नेपाली भाषा बुझे पनि फर्काउने थोरै हुन्छन् । सरकार स्थानीय विशिष्टता बुझ्दैन । सबै क्षेत्रमा नेपाली भाषालाई मुलभाषाको रुपमा लागु गर्छ । तर, व्यवहारमा अधिक कम प्रयोग हुने भाषा रोजाइमा पर्न सक्दैन । त्यसैको प्रभाव त होइन प्रदेश नम्बर २ मा नेपाली विषयको शिक्षक नहुनु ?

प्रतिक्रिया दिनुहोस्