Logo
Logo

सोमबारदेखि काठमाडौंमा फेरि पानी पर्ने सम्भावना


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, २७ माघ ।
केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आइतबार मौसम सफा भएको छ । तर, सोमबारदेखि फेरि पानी पर्ने सम्भावना छ ।
आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । उनका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।

सोमबारदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए । पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गएको पुस अन्तिममामात्र उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो ।

त्यसपछि माघको पहिलो साता आएको अर्को पश्चिमी वायुको प्रणालीले देशभर वर्षा र हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै लगत्तै अर्को पश्चिमी वायु भित्रिएको थियो, जसले माघको दोस्रो साता पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराएको थियो ।

गएको बुधबार भत्रिएको प्रणालीले बिहीबारदेखि तीन दिन लगातार देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो । वर्षा र हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको थियो । काठमाण्डौ वरिपरीका चन्द्रागिरि, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिरलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्