Logo
Logo

पाप पखाल्न ओली पशुपति गए : भीम रावल


- दृष्टि न्युज/संवाददाता


दृष्टि फाइल

बाजुरा, १३ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।  मंगलबार बाजुराको कोल्टीमा आयोजित विरोधसभामा नेता रावलले प्रतिनिधिसभा विघटन गरेको पाप पखाल्न प्रधाानमन्त्री ओलीे पशुपति गएको बताएका हुन् ।

विशेष पूजापाठ गरेर ओलीले आफूलाई सच्याउन खोजेपनि उनको पाप नपखालिने नेता रावलको तर्क छ । उनले भने, ‘संसद विघटनको चौतर्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’

विरोधसभामा रावलले ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीसँग झुक्न थालेको पनि आरोप समेत लगाए । यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप समेत लगाए । अत्यधिक पाप गरेपछि पशुपतिमा क्षमायाचना गर्न जानु हाँस्यास्पद भएको उनको टिप्पणी थियो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ दर्शन गर्न गएका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्जालसहित राजनीतिक दलले कटाक्ष र टिप्पणी गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्