Logo
Logo

तीन प्रदेशको सीमा विवाद


- दृष्टि न्युज/संवाददाता




धम्बोझी, २८ माघ  
प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । सीमा निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ । 


सीमा विवाद सम्वन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण 
गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताउनुभयो । “कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ”, उहाँले भन्नुभयो । 
जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि 
आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन । सीमा निर्धारणका लागि 
संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ । भूगोलको विवाद हुँदा विवादित 
क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् । । 

उक्त क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको 
हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ । 
बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताउनुभयो । । 

भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन । सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाइए पनि सिमा विवाद समाधान भएको छैन । समन्वय समिति मार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले बताउनुभयो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिनुभयो । 

 
(रासस)ः

प्रतिक्रिया दिनुहोस्