Logo
Logo

चिसो बढेपछि तीन दिन विद्यालय बिदा


- दृष्टि न्युज/संवाददाता


लहान, १४ माघ । केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।
चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको कथन छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्