Logo
Logo

सरकारले गर्‍यो दाङलाई औद्योगिक क्षेत्र घोषणा


- दृष्टि संवाददाता


काठमाडौं, १४ माघ । सरकारले दाङलाई औद्योगिक क्षेत्र घोषणा गरेको छ । गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले दाङको घोराही उपमहानगरपालिका ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नम्बर १) को ५ सय ४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रको पूर्वमा लमही घोराही सडक, पश्चिलममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्र छ । तीन बर्ष पहिले देखि दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिएको हो ।

पछिल्लो समय औद्योगिक क्षेत्र घोषणा तथा निर्माण गर्न सरकारले उच्च प्राथमिकता दिएको छ । सरकारले विगत केही वर्षदेखि बजेट उपलब्ध गराए पनि जग्गा प्राप्ति, वातावारणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत समस्याले औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको थिएन ।

देशभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । बालाजु, भक्तपुर, पाटन, धरान, बुटवल, नेपालगञ्ज, पोखरा, वीरेन्द्रगर, हेटौडा र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा छन् । अहिले सञ्चालनमा आएका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगभन्दा आयातित सोरुमले प्राथमिकता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्