Logo
Logo

प्रहरी बढुवाले सरकारमै खलबली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत शनिबार बेलुका एसएसपी र एसपी पदमा बढुवा सिफारिस भयो । तर, रिक्त रहेको डिआईजी पदमा भने बढुवाको निर्णय हुन सकेन ।
डिआईजीको रिक्त एक पदमा कसलाई बढुवा गर्ने भन्ने निर्णय हुन नसकेपछि सो पद रिक्त राखेर एसएसपी र एसपीमा मात्र बढुवा सिफारिस भएको हो ।

हुन त एसएसपी र एसपीको बढुवामा पनि ठूलै प्रतिस्पर्धा थियो । तर, शक्तिशाली व्यक्तिका सिफारिसलाई आधार बनाएर बढुवा गरियो । तर, डिआईजी बढुवाको विवाद भने यति गम्भीर भइदियो कि सरकारलाई नै समस्या उत्पन्न हुने भयो ।
एसएसपी विश्वराज पोखरेललाई डिआईजीमा बढुवा नगरे आफूले पदबाटै राजीनामा दिने धम्की उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दिएका छन् । एसएसपी पोखरेल उनका नातेदार हुन् । त्यसकारण जसरी पनि उनलाई बढुवा गर्न उनले दबाब दिएपछि बढुवा नै रोकिएको हो ।
अहिलेका एसएसपीहरुमध्ये पोखरेल जुनियर एसएसपी हुन् । उनको ब्याचलाई नछोई सिनियरमध्येबाट एकजनालाई बढुवा गर्ने गृह मन्त्रालयको तयारी थियो । जसमा आईजीपी सर्वेन्द्र खनालकै ब्याची वीरेन्द्र श्रेष्ठसमेत छन् । त्यस्तै घनश्याम अर्याललगायत अघिल्लो पटक छुटेका एसएसपीहरुसमेत छन् । तर, जुनियर ब्याचबाट बढुवामा अस्वस्थ प्रतिस्पर्धा भएपछि बढुवा नै रोकिएको स्रोत बताउँछ ।
आईजीपी खनाल कुनै पनि हालतमा पोखरेललाई बढुवा नदिने पक्षमा छन् । सो ब्याचबाट उत्तम सुवेदी र धिरजप्रताप सिंह खनालका निकट एसएसपी हुन् । उनीहरुलाई उछिनेर पोखरेललाई बढुवा नदिने पक्षमा खनाल रहेको स्रोत बताउँछ ।
अहिले अरुलाई उछिनेर डीआईजी बढुवा भए पछि आईजीपी हुन सहज देखेर रक्षामन्त्री पोखरेलले यसपटक अत्याधिक दबाब दिन लगाएका हुन् । जसले प्रहरी बढुवा नै रोकिएको छ ।
उता एसएसपी र एसपीको बढुवा यसपटक पनि विवादमुक्त हुन सकेन । पूर्वानुमान अनुसार नै सन्दीप भण्डारी आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका छन् भने यसअघि पहिलो नम्बरमा रहेका श्याम ज्ञवाली चौथो नम्बरमा पुगेका छन् । केही इमान्दार अधिकृतहरु बढुवामा छुट्दा दीपक थापा, टेकबहादुर तामाङ, भीम ढकाल लगायत चलखेल गर्न सक्नेहरु बढुवामा अटाएका छन् ।
एसपी बढुवामा अनौठो भएको छ । आफ्नो ब्याचमा पहिलो नम्बरमा रहेका भुवनेश्वर तिवारी र दोस्रो नम्बरमा रहेका ऋषिराज कँडेल छुटेका छन् भने रमेश थापाले पहिलो नम्बरमा बढुवा भएका छन् । कप्रमा बसेका प्रकाश रानाभाट र जनार्दन जीसीले बाजी मारेका छन् । अनुपमशमशेर राणा पछि पारिएका छन् भने कमल थापा अघि आएका छन् ।

प्रतिक्रिया दिनुहोस्