Logo
Logo

एक योद्धाको सम्झना


पूर्णशोभा चित्रकार


  • पूर्णशोभा चित्रकार

सत्यनारायण फैजुलाई मैले २०३५/३६ को शिक्षक आन्दोलनको क्रममा चिनेकी हुँ । उनको सम्पर्क शुशीलचन्द्र अमात्यमार्फत भएको थियो । उनकोे घर सूर्यविनायक, जगाते नजिकैको भातेढिकुरमा पर्दछ । हामी शिक्षक आन्दोलनका धेरैवटा कार्यक्रमहरुमा सँगै थियौँ ।

आन्दोलनको क्रममा सँगै पक्राउ पनि पर्यौँ । उनको उमेर मात्र होइन, व्यवहारमा पाकोपन थियो । अविभावकत्वको जस्तो व्यवहारले हामी युवा शिक्षकहरुलाई सधैँ प्रभाव पार्दथ्यो र अगाडि बढ्न सधैँ प्रेरणा मिल्दथ्यो ।

अष्टलक्ष्मी शाक्यको पहिलो सन्तान जन्मिसकेपछि अष्ट भूमिगत भए । उनको परिवार पाल्ने जिम्मा सत्यनारायण सरले लिएका रहेछन् । नानी लिएर अष्ट र म उहाँको घर पुग्यौँ । जीविकाको लागि घरभरि कुखुरा पालेका थिए ।

उनको आफ्नै सन्तानहरु पनि थिए । श्रीमती दुई जीउ भएर बच्चा पाउने बेलाकी थिइन् । तर हामीसँग पार्टीको निर्णय मान्नुपर्ने र तत्काल अर्को व्यवस्थापन गर्ने उपाय थिएन । रुँदै आमाको काख च्याप्न खोजिरहेकी बच्चीलाई भाउजु निलमको जिम्मामा छोडी हामी फर्कियौँ ।
मलाई भने छोडेर आएको बच्ची, फैजु सरको जागिरे जीवन, घरभरिको कुखुराको व्यवस्थापन र सुत्केरी हुने अवस्थाको भाउजुको सम्झनाले सताइरहयो । ती सबै जिम्मेवारी बहन गर्नु फैजु परिवारको लागि ठूलै चुनौती थियो ।

कामको जिम्मेवारी फरक–फरक हुँदा लामो समयसम्म फैजु सरसँग भेट भएन । यात्रा गर्दा बाटोमै उभिएको लामो घरलाई नियाल्दै धेरैपल्ट ओहोरदोहोर गरेकी छु । आज जाऊँ, भोलि जाऊँ भन्दाभन्दै वर्षहरु बितेको पत्तो नै भएन ।

एक्कासी सामाजिक सञ्जालबाट पुस २७ गते फैजु सरको देहान्तको खबरले मलाई मर्माहत बनायो । अस्ति भर्खर मात्र त्यो बाटो छिचोलेको बेला पस्न पाए हुन्थ्यो जस्तो पनि लाग्यो । तर समय गई त सक्यो कहिल्यै नफर्किने गरी । मैले उनको लागि एक अञ्जुली श्रद्धाञ्जलि दिनेबाहेक केही गर्न सकिन ।

फैजु सरलाई शिक्षक आन्दोलनको एक पात्रको साथै कम्युनिष्ट आन्दोलनको एक योद्धाको रुपमा पनि सम्झनु आवश्यक छ । पानीको स–सानो थोपा मिलेर समुद्र बन्छ भनेझैँ फैजु सरजस्ता धेरै योद्धाहरुको योगदान, सक्रियता, बलिदान र नेतृत्वले नै आज नेपाल कम्युनिष्ट पार्टीको निर्माण हुनसकेको हो । जुन पार्टीले संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरी सरकार चलाउने मौका पायो ।

पानीको स–सानो थोपा मिलेर समुद्र बन्छ भनेझैँ फैजु सरजस्ता धेरै योद्धाहरुको योगदान, सक्रियता, बलिदान र नेतृत्वले नै आज नेपाल कम्युनिष्ट पार्टीको निर्माण हुनसकेको हो । जुन पार्टीले संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरी सरकार चलाउने मौका पायो ।

हरिभक्त फैजु र सरस्वतीको कोखबाट विसं २००२ माघ ६ गते सत्यनारायण फैजु जन्मनु भएको थियो । उहाँले २०२० सालतिर एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको थियो । ऊ बेला एसएलसी उत्तीर्ण गर्नु भनेको ठूलो सफलता मानिन्थ्यो र उत्तीर्ण भएपछि जागिरको समस्या हुँदैनथ्यो ।

लिष्ट बोकेर घरघरमै जागिरका लागि मानिस खोज्न आउँथे रे । उहाँको सन्दर्भमा पनि त्यस्तै भयो । उहाँले नेपाली सेनामा भर्ती हुनको लागि एक महिना लप्टनको तालिम पनि लिनु भएको थियो । उहाँका बुबा व्यापारी थिए र जागिरबाट आउने तलबभन्दा व्यापारबाट आउने पैसा धेरै हुन्छ भन्ने सम्झाएपछि फैजु सरले पनि जागिरको बाटोलाई त्यागी व्यापारतर्फ लाग्ने मन गरे ।

उहाँ वामपन्थी विचारधारामा कसरी र कहिले आस्थावान भए, त्यसको पाटो खोज्दै जाउँला कुनै दिन । व्यापारमा मन दिएका उनले आखिर शिक्षकको जागिर रोजे । वि.सं २०२४ सालतिर उहाँ शिक्षकको रुपमा सुशीलचन्द्र अमात्यसँग चौताराको श्रीकृष्ण माविका शिक्षक बन्नको लागि काठमाडौंबाट हिँड्नुभयो ।

सुशीलचन्द्र अमात्यले मनमोहन अधिकारी महासचिव भएको बखत विसं २०१० सालमा नै नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिइसक्नु भएको थियो । बाटोमा हिँड्दा, सँगै बस्दा र सँगै पढाउँदा वामपन्थी विचारधारा भएको नाताको हिसाबले पनि यी दुईको परिवारबीच मित्रता बढ्दै गयो ।

पछि सुशीलचन्द्र अमात्यकी श्रीमती कमला अमात्यले पनि सोही विद्यालयमा पढाउन थाल्नुभयो । अमृत बोहरा, पुण्यप्रसाद न्यौपाने त्यसबेला विद्यार्थी थिए र तीनै शिक्षकहरुबाट राजनीतिक ज्ञान पनि प्राप्त गर्दथे ।

सिन्धुपाल्चोकमा पढाउनुको साथसाथै सुशील सर र सत्यनारायण सरले गाउँमा वामपन्थी विचारधारा फैलाउन र मानिसहरुलाई संगठित गर्नको लागि निकै मेहेनत गरे । स्कूलमा तनमन दिएर पढाउँथे र शुक्रबार बेलुकीदेखि राजनीतिक काम गर्ने योजना बनाउँथे । गाउँमा संगठनको काम सकिएपछि शनिबार बेलुकी वा आइतबार बिहान डेरामा आइपुग्थे ।

त्यसरी गाउँमा शिक्षाको ज्योति फैलाउने र राजनीतिक चेतना दिने काम सँगसँगै भइरहेको थियो । तर नेपाली कांग्रेस र पञ्चायतको राजनीति गर्नेहरुलाई ती कुरा मन परेको थिएन । उनीहरुले बेला मौकामा हुलदंगा गर्ने र कुटपिट गर्न खोज्दथे । केहीपल्ट त लाठी, खुँडा, खुकुरी लिएर मार्ने कोसिस गरेका थिए ।

फैजु सर लडाकु स्वभावका थिए । त्यसले प्रशासकहरु, गुण्डा र विरोधीहरुसँग भिड्न डराउँथे । पञ्चायतकै भए पनि त्यतिखेरको जिल्ला प्रशासकले त्यस्तो आक्रमण र हत्याबाट बचाउन निकै सहयोग गरेका थिए । पञ्चायत व्यवस्थाभित्र उदार व्यक्तिहरु पनि थिए ।

करिब पाँच वर्षको सिन्धुपाल्चोक बसाइपछि तीनै जना उपत्यका फर्के । सुशीलचन्द्र सर र कमला मिसले पाटनका विद्यालयहरुमा पढाउन शुरु गरे भने फैजु सरले भक्तपुरको गान्धी आदर्श माविमा पढाउन थाले । मैले उहाँलाई गान्धी आदर्श माविको शिक्षकको रुपमा चिन्न शुरु गरेकी थिएँ । उहाँले गान्धी आदर्शमा काम गर्दा नेकपा रोहित समूहका कार्यकर्ताहरुले निकै दुःख दिने गरेको कुरा राजेन्द्र पाण्डेसँग बराबर गर्ने गर्थे ।

२०३५÷३६ सालदेखि शिक्षक आन्दोलन चुलिँदै गयो । शिक्षकहरुको मुख्य मागहरुमा सरकारी कर्मचारीसरह तलब, पेन्सन, उपदान, स्वास्थ्य उपचारको व्यवस्था र राष्ट्रव्यापी संगठन बनाउनुपर्ने मुख्य थियो ।

तर सरकार पक्षले ती मागहरुको टेरपुच्छर लगाउँदैनथ्यो र हरेक मुद्दालाई राजनीतिकरण गर्ने र धडपकड गर्ने कामलाई मात्र प्रश्रय दिन्थ्यो । सबभन्दा बाधा हाल्न खोज्ने विषय के थियो भने संगठन निर्माणको कुरा ।

त्यो विषय छल्नलाई सरकारले हरेक जिल्लामा छुट्टाछुट्टै संगठन खोल्न दिने वा तहअनुसार छुट्टाछुट्टै संगठन बनाउन दिने प्रस्ताव बेलाबेलामा दिने गर्दथ्यो । यसो गर्दा शिक्षकहरु राष्ट्रियरुपमा संगठित हुन सक्दैनन् भन्ने सरकारको मान्यता थियो ।

शिक्षकहरु त्यसको विरुद्ध लड्दै विसं २०३७ को माघ महिनामा नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो राष्ट्रिय सम्मेलन भयो । त्यसमा सानु मिश्रद्वारा रचित स्वागत गीत मैले पनि गाएकी थिएँ । तर शिक्षकहरुको समस्या भने समाधान भएन ।

मागहरु पूरा हुने छाँटै देखिएन र धडपकडमा पनि कमी आएन । विभिन्न निहुँमा विभिन्न मुद्दाहरु पनि लाड्दै गए । ती आन्दोलनहरुको क्रममा फैजु सर पनि अन्य शिक्षकहरुको साथमा पटक–पटक पक्राउ पर्नुभयो ।

विसं २०३८ सालको एक सय चार दिन लामो आन्दोलनका क्रममा जेठ २९ गते शिक्षकहरु राष्ट्रिय पञ्चायत सदस्यहरुलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान खोजेका थिए । जुलुसलाई भद्रकाली मन्दिरनेर रोकियो र शिक्षकहरु मन्दिर वरपर बसेर नारा लगाउँदै बसे ।

रुपक शर्माको नेतृत्वमा आएको प्रहरी टोलीले राजेन्द्र पाण्डे, सत्यनारायण फैजु, मञ्जुल, विरोध खतिवडा, विन्दुबासिनी, जगतकुमारी, मिराध्वंजु, कमला अमात्य, नारायण राणा, शिवबहादुर देउजा, सुशील अमात्यलगायतका दर्जनौंलाई पक्राउ गरे । म भने फुत्किएर जोगिन सफल भएँ । राजेन्द्र पाण्डे, सत्यनारायण फैजुलगायतलाई करिब १५ दिनसम्म डिल्लीबजारको सदरखोरमा राखेको थियो ।

सत्यनारायण फैजुको जिम्मेवारी आन्दोलनमा मात्र सीमित भएन । त्यतिखेर शिक्षक संगठनको नेतृत्व गर्ने तत्कालीन नेकपा मालेको भूमिगत कमिटी बनेको थियो । त्यो कमिटीलगायतका केही बैठक र भेलाहरु भातेढिकुरेको लामो घरमा हुने गर्दथ्यो । त्यो घरले झलनाथ खनाल र अन्य केही भूमिगत नेताहरुको अल्पकालीन सेल्टरको रुपमा भूमिका निभाएको थियो ।

सत्यनारायण सरको देहान्तपछि श्रद्धाञ्जलिको लागि म खुरुखुरु त्यो लामो घरमा पुगेकी थिएँ । घरमा ताला लगाएको, धुलोले ढाकिएको र सुनसान थियो । भूकम्पले क्षति पुर्याएको र केही भाग सडकले खाएको रहेछ ।

खोज्दै उनको नयाँ घरमा पुग्दा थाहा भयो उनकी श्रीमती निलम भाउजु जसलाई अष्टलक्ष्मीको नानीको जिम्मा सुम्पेका थियौँ, सत्यनारायणभन्दा पाँच दिन अगाडि नै बितेकी रहिछन् । दुःखमाथि बज्रपात भएको छ सत्यनारायण फैजुको परिवारमा । उनका पाँच भाइ छोरा, एउटी छोरी र सम्पूर्ण परिवारजनले धैर्यधारण गर्न र दुःखलाई शक्तिमा बदल्न सकुन् भन्ने कामना गरेर म फर्के ।

प्रतिक्रिया दिनुहोस्