Logo
Logo

जनयुद्ध दिवसमा ओली अनुपस्थित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा बुधबार प्रमुख सत्तारुढ दल नेकपाले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।


पार्टी एकतापछि नेकपाले पहिलोपटक जनयुद्ध दिवस मनाएको हो । धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका र जनआन्दोलनका सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नेकपाले जनयुद्ध दिवस मनाइरहँदा हिजो अलग(अलग रहेको नेता र जनतालाई सैद्धान्तिक, वैचारिक र भावनात्मक रुपमा एक बनाउने ऐतिहासिक सन्देश प्रवाह भएको बताए ।

तत्कालिन एमालेका केही नेताहरु सहभागी कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । सो विषयमा प्रचण्डले भने ‘पार्टी अध्यक्ष तथा कमरेड केपी शर्मा ओली पनि आउने कुरा थियो । तर गर्नै पर्ने केही कामको असाध्यै धेरै चापले गर्दा प्रधानमन्त्री यहाँ उपस्थित नभएपनि यो निर्णय हामी दुवै जनाको सहमतिमा भएको हो ।’

यो जनयुद्ध दिवसले आफूहरु भित्र नयाँ एकताको आधार बनाएको दावी पनि प्रचण्डले गरे । पार्टी एकता र जनसंगठनहरुको एकतामा भएको ढिलाईप्रति उब्जिएको चिन्तालाई पनि यसले सकारात्मक सन्देश दिएको उनले बताए ।

यद्यपी कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत उपस्थित थिए भने महासचिव पौडेलबाहेक पूर्व एमालेका सचिवालयका अरु नेता नै कार्यक्रमस्थलमा सहभागी थिएनन् । त्यस्तै माधव नेपाल, झलनाथ खनाल पनि उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्