Logo
Logo

“भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिहरुवाटै भ्रष्टाचार हुनु विडम्वना र चुनौती”—राष्ट्रपति विद्या भण्डारी


- दृष्टि न्युज/संवाददाता



राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा माघ २९ गते दिनु भएको मन्तव्यमा आम जनताको मनका कुरा वोल्नु भएकोछ । उहाँले भन्नु भएको छ—“भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिहरुवाटै भ्रष्टाचार हुनु विडम्वना र चुनौतीको विषय हो ।”

अख्तियार दुरुपयोग निवारण आयोगको स्थापना दिवसको कार्यक्रममा राष्ट्रपति स्वयम्वाट भ्रष्टाचारको विषयमा यस्तो कडा र स्पष्ट सम्वोधन आएको यो पहिलो पटक हो । यसभन्दा अगाडि न त नेपालका कुनै राष्ट्रप्रमुखले यस्तो कडा सम्वोधन दिएको पाइन्छ, न त प्रधानमन्त्रीहरु वा अरुले नै भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु र भ्रष्टाचारका विषयमा यस्तो स्पष्ट र कडा वक्तब्य दिएको पाइन्छ ।

भ्रष्टाचारले सीमा नाध्न थालेको वेला राष्ट्रपति विद्या भण्डारीले स्पष्ट र कडा शब्दमा जुन तरिकाले भ्रष्टाचारका विरुद्ध र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुका गम्भीर कमजोरीका विरुद्ध मन्तब्य दिनु भएकोछ, यसले आम जनतामा केही आशाको संचार गराएकोछ ।

राष्ट्रपति पद नेपालमा कार्यकारी पद नभएपनि अरु निकायले जनअपेक्षा अनुसार काम नगर्दा जनताले भर गर्ने एक अन्तिम ठाउँको रुपमा रहेकोछ । राष्ट्रपतिलाई अरु कार्यकारी अधिकार नभएपनि सरकारले सबै जानकारी दिनुपर्ने संवैधानिक प्रावधान र संविधानको संरक्षकको जिम्मेवारी संविधानले नै दिएकोले भ्रष्टाचार लगायत जनताका गम्भीर समस्याहरुका विषयमा सरकार तथा अन्य जनसरोकारका निकायहरुलाई वेलैमा सचेत गराउन सक्ने गम्भीर जिम्मेवारी तथा नैतिक अधिकार रहेको छ । यसैले राष्ट्रपतिको यस वक्तब्यले इतिहासमा एक छुट्टै महत्व राख्नेछ ।

सर्वसाधारण जनताले अहिले सरकारवाट धेरै ठुलो अपेक्षा गरेका थिए । जनताको जीवन कष्टप्रद वन्दै गएको सरकारले नदेख्नु विडम्वनाको विषय हो । सरकारको एक वर्षमा जति कामहरु हुन सक्दथ्यो, त्यो नहुनुले जनतामा निराशा छाएकोछ । यस्तो वेलामा राष्ट्रपतिले सरकारलाई सचेत गराउने र जनताका पक्षमा कामहरु गर्न गराउन पहल होस् भन्ने जनचाहना हुनु स्वतः सिद्ध कुरा हो । यस्तो समयमा राष्ट्रपतिको कडा र स्पष्ट सम्वोधनले केही भएपनि मल्हमको काम गरकोछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्