Logo
Logo

म्याग्दी अस्पतालको भवन निर्माण अलपत्र


- दृष्टि संवाददाता


म्याग्दी, २४ माघ । सदरमुकाम बेनीमा ५० शैया क्षमताको अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित बनेको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ ।

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘पचास श्यया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं’, कटुवालले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

पन्ध्र शैया क्षमत्ताको अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आर्थिक वर्षमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह हुन् । विसं २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । हालसम्म दुई भवनको मात्र तेस्रो तला ढलान भएको छ भने एउटाको तेस्रो तला ढलानका लागि तयारी गरेर छोडिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री समेत हुनेछ । पटक–पटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए। सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्