Logo
Logo

गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तोडफोड


- दृष्टि संवाददाता


सर्लाही, २६ माघ । विद्यालय शिक्षाको मन्दिर हो । यो मन्दिरमा प्रवेश गरेपछि भोलिका देशका कर्णधार उत्पदान हुन्छन् । ज्ञान प्राप्त गर्छन् । तर मन्दिर, मन्दिर नबनेर युद्धस्थल बन्यो भने नि ? हो, यस्तै युद्धभूमिमा परिणत हुन पुगेको छ, सर्लाहीको चक्र जनता माध्यमिक विद्यालय । विद्यालयले न्यूनतम शैक्षिक वातावरण पनि बनाउन नसकेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले भौतिक सम्पत्ति तोडफोडमा उत्रँदा विद्यालय युद्धभूमि भन्दा फरक भएन ।

सर्लाहीको बरहथवा नगरपालिकाको श्री चक्र जनता माध्यामिक  विद्यालयमा गत एक साता यता विद्यार्थी र शिक्षकबीच भएको विवादका कारण रणभूमिमा परिणत भएको छ । विद्यार्थीले मच्चाएको विध्वंशले विद्यालयका सिसा फुटेका छन् भने कुर्सीहरू भाँचिएका छन् ।

विद्यार्थीको तोडफोडमा फुटेका झ्यालका सिसाका टुक्राहरू

झडप र तोडफोड नै भएपछि विद्यालय प्रशासनले बुधवार देखि पठनपाठन नै बन्द गर्दै आएको छ । खासमा विद्यार्थीले विद्यालयबाट न्यूनतम शैक्षिक वातावरण समेत नपाएको आरोप लगाउँदै विद्यालय प्रशासन र नगरपालिकाका जनप्रतिनिधिविरुद्ध नारवाजी गर्दै तोडफोड गरेका थिए । माग सम्बोधन नगरेर उल्टै हप्की र धप्की गरेकाले आन्दोलनमा उत्रनु परेको विद्यार्थीले बताएका छन् ।

विद्याथीले तोडफोड गर्दा भाँचिएका कुर्सीहरू

यता, विद्यार्थीको पठन पाठनमा कुनै पनि समस्या नभएको विद्यालयले दावी गरेको छ । विद्यार्थीको नियमित पढाइमा केही सामान्य समस्या देखिएको भएपनि यसलाई छिटै समाधान गर्ने दावी प्रधानाध्यापक रामबहादुर यादवको छ । तर, निहीत स्वार्थलाई लिएर विद्यार्थीलाई परिचालन गर्नुै कुनै पनि हालतमा सह्य नहुने भन्दै हालको अवस्था सृजना हुनुमा उनले शिक्षकलाई दोषी ठहर्‍याए ।

प्रधानाध्यापकको नजरमा विद्यार्थीलाई केही शिक्षकले भड्काएका हुन् । विद्यालयमा हाजिर गरेर अन्य विद्यालयमा पढाउन जान रोक लगाउँदा शिक्षक रुष्ट भएर विद्यार्थीको सहारा लिएर विद्यालयमा तोडफोड मच्चाएको ठोकुवा उनले गरे ।

आन्दोलित विद्यार्थीको ढुंगा मुढाबाट नगरमा समेत क्षति पुगेको नगरपालिका कार्यलयले जनाएको छ । विद्यार्थीलाई पटक पटक माग लिएर छलफलको लागि आउन आग्रह गर्दा उनीहरू नआएको बरहथवा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले जानकारी दिए ।

आफुहरु विद्यार्थीहरुको जायज माग संम्बोधन गर्न तत्पर हुदाँहुदै तोडफोडमा उत्रिएको विषयमा अनुसन्धान गरिरहेको नगरपालिकाले जनाएको छ । दोष जसको सुकै होस् । तर, शिक्षाको मन्दिरमा तोडफोड भएको छ । विद्यालयमा लाठी बोकेर विद्यालय झडपमा उत्रनु भनेको कुनै पनि हालतमा सह्य हुँदैन ।

अझ, विद्यार्थी उक्साएर आफ्नो अभिष्ट पूरा गरिएको हो वा आरोप लगाउन खोजिएको हो यसबारेमा विस्तारै तथ्य अवश्य बाहिरिएला । अहिले विद्यालय प्रशासन विद्यार्थीसँग छलफल गरेर विद्यालयको अध्यापन सुरु गराउने तरखरमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्