Logo
Logo

सञ्चारमन्त्री र मेयरले बुझेको पत्रकारिता


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २७ माघ । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको बाइसौं साधारणसभालाई सम्बोधन गर्दै सञ्चारमन्त्री पार्वत गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारिता पेशा स्वतन्त्र र मर्यादित भए मात्र त्यसले समाजमा सकारात्मक भूमिका खेल्न सक्ने बताए । अहिले सूचना प्रविधिको विकासले सूचनाको पहुँचलाई जनताको हातहातमा पु¥याएको हुँदा सही सूचना र विचारको प्रवाहले मात्र सभ्य समाजको निर्माण हुन्छ । पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुमा उँचो नैतिकता र पेशाप्रति प्रतिबद्धता भए मात्र नागरिकले मिडियामा लेखिएका कुरामा विश्वास गर्छन्, समाजलाई सही बाटोमा डोहो¥याउने माध्यम पनि यही हो । तर, पत्रकारिता पेशा धुमिल हुँदै जाँदा कुन सञ्चार माध्यमको कुरा सही हो भन्ने कुरा ठम्याउन पाठकहरुलाई गाह्रो परेको यथार्थ मन्त्री पार्वत गुरुङले पोखे ।

नेपाल पत्रकार महासंघको साधारणसभामा प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा आएका मन्त्री गुरुङ र मेयर शाक्यले औपचारिक कुराभन्दा बढी सञ्चारमाध्यमबाट आफू र नागरिक समाजले भोगेका तिक्तता पोखेका थिए । मन्त्री गुरुङले भने– अरुमाथि औंला ठड्याउँदा तपाईं पत्रकारहरुमाथि पनि कसैले औंला ठड्याउन नपरोस् । बाटोमा हिँड्दा शिर ठाडो पारेर हिँड्न सक्ने हैसियत बनाउनुस् । आज लेखेका कुरा भोलि आफैँले खण्डन गर्न नपरोस् । यत्ति कुरामा पत्रकारहरुले ध्यान दिन सके नेपाली पत्रकारिता जगत् विश्वसनीय बन्ने छ । तर, दुर्भाग्य नेपालका मूलधारका पत्रकारबाहेक भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका पत्रकारहरु ‘ब्रेकिङ न्यूज’को भोकमा झूठा समाचार प्रकाशित गरेर समाजलाई दिग्भ्रमित पारेको आरोप लगाए । उनले भने– समाचार सम्प्रेषण गर्नु अगाडि समाचारको सत्य, तथ्य बुझ्न सुझाव दिए । शुभकामना मन्तव्यको क्रममा मन्त्री गुरुङले राजनीतिक भाषण गर्नुभन्दा पनि पत्रकारिताको विषयवस्तुमा प्रवेश गरेर नेपाली पत्रकारितालाई आफूले कसरी हेरिरहेको छु भन्ने कुरा स्मरण गरेका थिए ।

त्यस्तै मेयर शाक्यले पनि राजनीतिक विषयवस्तुबाट टाढा रहेर सत्य तथ्य समाचारको खडेरी परेको बताउँदै आफू पनि पटक–पटक पत्रकारिताबाट पीडित भएको गुनासो पोखे । आफूले कहीँकतै गल्ती गरेको भए, त्यस्तो कुरा स्वच्छ आलोचनासहित समाचार सम्प्रेषण गरे आफूले गल्ती सच्याउने मौका पाउने थिएँ, तर कताका कुरा कता लगेर जोड्दा आम मानिस भ्रममा पर्ने हुँदा सञ्चारकर्मीहरुले यस्ता कुरामा ध्यान दिन आग्रह गरे ।

मेयर शाक्यको गुनासो अनलाइन पत्रकारिता र युट्युबसँग बढी थियो । अनलाइन र युट्युबमा जथाभावी समाचार र सन्दर्भविहीन तस्वीर राख्दा आम मानिस भ्रममा परेका छन् । जसले समाजमा विकृति मात्र बढाएको छैन, त्यस्ता सञ्चारमाध्यमका कारण पत्रकारिताको विश्वसनीयतामा कमी आएको बताए । मेयर शाक्यले आफूलाई काठमाडौंको एउटा अनलाइनले बंगलादेशको फोटो राखेर बदनाम गराउन खोजेकामा दुःखेसो पोख्दै भने– ‘लाइक’ ‘शेयर’ बढाउने नाममा यस्ता विकृत काम पत्रकारहरुले गर्न नहुने सुझाव दिए । उनले भने– सञ्चारमाध्यममा आएका कति कुरा ठिक छन्, कति बेठिक भन्ने कुरा छुट्याउन पाठक सक्षम छन् । झुठो कुरा एक सेकेण्ड पनि टिक्दैन । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सोच विचार गरेर आफ्न भनाइ सभ्य तरिकाले प्रस्तुत गरे त्यसले समाजलाई सकारात्मक बाटोमा डो¥याउँछ भन्ने सुझाव दिए ।

पुरस्कृत व्यक्तिहरुको तर्फबाट बोल्दै दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले सत्य एउटै हुन्छ । आफूलाई पत्रकार भनेपछि सत्यको पक्षमा उभ्याउनै पर्छ । अहिले पत्रकारहरु प्रतिगमनको पक्ष र विपक्षमा उभिनु दुःखको कुरा हो भने । अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट विभूषित सम्पादक श्रेष्ठले नेपालमा लोकतन्त्र स्थापनाका लागि नेपाली प्रेस जगत्ले जहिले पनि ‘फ्रन्टलाइन’मा उभिएर संघर्ष गरेको स्मरण गर्दै अहिले पनि लोकतन्त्र संकटमा पर्दै गएकोले सिंगो प्रेस जगत् सजग हुनुपर्ने बताए । श्रेष्ठले भने– समयमै प्रतिगमन नसच्चिए मुलुकमा संकटकाल घोषणा हुनेछ, त्यसको पहिलो निशाना मिडिया पर्नेछ ।

काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभालाई सांसद रामनारायण बिडारीले पनि शुभकामना मन्तव्य दिएका थिए । काठमाडौं शाखाले उक्त अवसरमा विभिन्न क्षेत्रमा कार्यरत पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्