ललितपुर, २८ माघ । चार वर्षमा पनि ललितपुरको ढोलाहिटी–लेले सडक निर्माण सम्पन्न हुनसकेको छैन । पुस मसान्तसम्ममा सडकको भौतिक प्रगति ५५ प्रतिशत मात्र रहेको छ ।
सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए । उनका अनुसार बस्ती क्षेत्रमा चार/पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ ।
सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन ।
सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए ।
सूचना अधिकारी देवकोटाले अघिल्ला वर्षहरुमा सडक चौडाइ बढाउन खोज्दा सडक निर्माण हुनसकेको थिएन भने गत आवमा कोभिड–१९ का कारण निर्माण अवरुद्ध बन्न पुगेको बताए । चालु आवमा काम गर्ने वातावरण भए पनि केही समय पहिलेसम्म गृह मन्त्रालयले खानीजन्य उद्योग बन्द गर्दा निर्माण सामग्रीको अभाव भएको थियो ।
सबै किसिमका समस्या हट्दै गएकाले अहिले अधिकांश स्थानमा निर्माण भइरहेको उनको भनाइ छ । ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ ।
ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्को प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाको भनाइ छ । सोही सडकको चापागाउँबाट–लेलेसम्मको सडक पनि सम्पन्न नभएको आयोजनाले जनाएको छ ।
अन्यत्र उपलब्ध चौडाइमा निर्माण भइरहेकामा टाखेलबाट टीकाभैरवसम्म वन क्षेत्रमा १४ मिटर चौडाइमा निर्माण भइरहेको छ । वन क्षेत्रमा माटो खन्ने काम भइसकेको र त्यहाँ सडक कालोपत्र बाँकी छ। त्यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत छ ।
निर्माण शुरु भएको चार वर्षपछि सो सडक मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७३/२०७४ मा ठेक्का सम्झौता भएकामा अहिले छ÷सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।
सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाई कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेका थिए ।
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो देखाएका थिएनन् ।
सडक नजिक रहेका विभिन्न मठमन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । सडक विस्तारकै क्रममा हुँदा पनि सडक नजिकै रहेका पुरानो पाटी मर्मत र नयाँ पाटी निर्माण भएको थियो ।












