काठमाडौं, २९ माघ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित चार राजनीतिक दलबीच मोर्चाबन्दी हुने भएको छ । औपचारिक कार्यक्रम गरेरै मोर्चाबन्दीको घोषणा गरिनेभएको छ ।

मोर्चामा विप्लव नेकपा सहित मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।
मध्यानन्ह १२ बजे प्रज्ञा भवन कमलादीमा घोषणासभा गरिने नेताहरुले जानकारी दिएका छन् । यसअघि चारै दलले केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको उल्लेख गरेका थिए ।
यी दलले वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै आएका छन् ।











