Logo
Logo

हँसिलो मुहारमा राष्ट्र सेवामा लाग्न मन्त्री पण्डितको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, ४ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएलगतै नयाँ भर्ना प्रक्रिया शुरु हुने बताएका छन् । ‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’ उनले भने, ‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको ३३आँै आधारभूत प्रशासन प्रशिक्षणको समापन गर्दै मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको बताए । उनले यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने पनि बताए ।
प्रशासनमा भएको विसंगति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताउँदै उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए । उनले भने, ‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु ।’
मन्त्री पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारीअनुसार काम सम्पन्न गर्नेलाई पुरस्कृत र अल्छी मान्नेलाई दण्ड सजाय दिने बताए । उनले मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन हुनुपर्ने बताए । ‘मुलुकमा भएको परिवर्तन कर्मचारीमा परिवर्तन हुनुपर्दछ । अहिले मुलुक संघीयतामा गएको छ । कर्मचारी पनि सङ्घीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ’ उनले भने ।
नवनियुक्त कर्मचारीलाई हँसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गरे । उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक ईश्वर नेपालले तालीममा सिकेका आचरण र व्यवहार आफनो कार्यक्षेत्रमा राम्रोसँग लागू गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्