Logo
Logo

केपी ओली समूहको शनिवार लुम्बिनी प्रदेशमा आमसभा, दुई लाख मानिस उतार्ने दावी


दृष्टि संवाददाता


बुटवल, ३० माघ । नेकपा ओली समूहले शनिवार लुम्बिनी प्रदेशको बुटवलमा आमसभाको आयोजना गर्दैछ ।

शक्ति प्रदर्शन देखाउने होडमा शनिवार लुम्बिनीमा प्रदर्शन गर्न लागिएको हो ।

प्रदर्शनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफै खटिएका छन् ।

मुख्यमन्त्रीले केही दिन अघि आमसभाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नै दुई लाख मानिस उतार्ने दावी गरेका थिए ।

किन रोजियो फेरि बुटवल ?
प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि ओली पक्षले दोस्रो पटक बुटवलमा सभा गर्न लागेको हो ।

दरबारमार्गमा २३ गते प्रदर्शन गर्दा नै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा फागुन १ गते प्रदर्शन गर्ने बताएका थिए ।

ओली पक्षको निकै राम्रो पकड क्षेत्र मानिएको लुम्बिनी प्रदेशमा दोश्रो शक्ति प्रदर्शन गरेर यसअघि बुटवलमै प्रचण्ड–माधव समूहको भन्दा विशाल जनसहभागिता देखाउने तयारी गरिएको छ ।

कसले गर्नेछन् सम्बोधन ?
शनिवार हुने सभामा ओली समूहका अधिकांश नेताले सम्बोधन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी समिति सदस्य रायमाझी र लेखराज भट्ट तथा मुख्यमन्त्री पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।

यसबाहेक मञ्चमा पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, तीव्र गतिको इन्टरनेटको व्यवस्था मिलाइएको र प्रधानमन्त्री लगायत सबैको सहजै तस्बिर लिन सकिनेगरी सञ्चारमाध्यमलाई प्रशारण गर्ने स्थान पनि मिलाइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्