Logo
Logo

चिनी मिललाई उखु अभाव


दृष्टि संवाददाता



महोत्तरी, ५ फागुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ ।

गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए ।

विगतका वर्षमा दैनिक ५०/६० हजार क्वीन्टल र कुनै कुनै दिन एक लाख क्वीन्टलसम्म उखु क्रसिङ हुने यस मिलमा अहिले उखु अभावमा दैनिक १०÷१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ ।

मिलको क्षमताअनुसार उखु प्राप्त नहुँदा उखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइएको छ । अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा उखु खरीद गर्न गए पनि किसानले आवश्यक मात्रामा उखु मिललाई प्रदान गरिरहेका छैनन् ।

यता उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले उखु उत्पादकलाई उखु लिए बापतको रकम भुक्तानी गर्न दुई/तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा उखु उत्पादन नगर्दा मिललाई उखु अभाव भएको बताए ।

मिललाई उधारोमा उखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै उखु बिक्री गरिरहेको छ ।

कुनैबेला ५८ लाख क्वीन्टल उखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि उखु पाउन नसक्दा मिललाई उखुको अभाव सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्