Logo
Logo

कृषि अनुदानको दुरुपयोग, मासु पसलका लागि लिएको अनुदान अन्तै लगानी


दृष्टि संवाददाता


म्याग्दी, ५ फागुन । म्याग्दीको बेनी बजारस्थित गणेश टोलमा ‘म्याग्दी कोरला मासु पसल’ छ । संचालक हुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुममा कुम मिलाउने प्रकाश पौडेल ।

उनी गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकीय सचिव पनि हुन् । उनले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट फ्रेस हाउस सुदृढीकरण कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५÷७६ मा दुई लाख रुपैयाँ लिएर सालमा मासु पसल खोले । तर, यो पसल एक वर्षदेखि बन्द छ ।

नियमत अनुदनमा लिएको रकम अन्त प्रयोग गर्न पाइन्न । तर, पौडेलले अनुदानमा लिएको रकम अन्तै लगानी गरेको पाइएको छ । पौडेल सहित नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला संयोजक सुवास विश्वकर्मा लगायतले मासु पसलका साथै बेनीकै बालमन्दिर चोकमा पोल्ट्रि सप्लायर्स खोलेका थिए ।

उनीहरूले कृषियका लागि लिएको रकम यातायात व्यवसायमा लगानी गरेका छन् । स्रोताका अनुसार एक बस संचालक कम्पनीमा उक्त अनुदान रकम लगानी गरिएको छ ।

एक उद्देश्यमा सरकारी अनुदान लिएर अन्तै लगानी गर्नु गैह्रकानुनी हो । अनुदान लिएर फर्म सञ्चालन नगर्नेलाई कानूनी दायरामा ल्याउने स्पष्ट नीति नहुँदा समस्या देखिएको सरकारी अधिकारीको भनाइ छ ।

अनुदानमा लिएको रकम अन्तै लागनी गरेपछि मासु पसल मात्र बन्द भएको छैन, कृषकको पसिनामा समेत खेलवाड भएको छ ।

कृषकबाट लिएको कुखुरको पैसा समेत तिरेका छैनन् । फोन गर्दा रिसिभ नगर्ने, भेट हुँदा पैसा मागे उल्टै धम्काउने गरेको कृषकको गुनासो छ । सम्पर्कमा आएका पीडित कृषकका अनुसार उनीहरूले करिव २० जनाको दश लाख रुपैयाँभन्दा बढी डुबाएका छन् ।

मासु पसल संचालन गर्न मासु लिएका उनीहरू नेकपा विभाजनपछि प्रधानमन्त्री केपी केपी शर्मा ओली समूहमा छन् । उनीहरू राजनीतिक पहुँच राख्छन् । त्यसैले उनीहरू मनपरी गरिरहेको कृषक आरोप लगाउँछन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न शीर्षकमा ३९ जना कृषकलाई एक करोड २६ लाख बीस हजार रुपैयाँ अनुदान वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा पनि विभिन्न शीर्षकमा अनुदान बाड्न केन्द्रलाई ६ करोड २५ लाख रुपैयाँ बजेट आएको छ ।

तर, नीतिगत कमजोरीको फाइदा उठाएर कागजमा फर्म खोलेर सरकारी अनुदान दुरुपयोग गर्नेहरुका कारण वास्तविक कृषक र ब्यवसायी समक्ष यस्ता कार्यक्रम पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्