Logo
Logo

संसद् पुनःस्थापना नभए नेपाल अफनागिस्तानकाे अवस्थामा जानसक्छ : रामचन्द्र पाैडेल


दृष्टि संवाददाता


कास्की, ६ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए नेपाल अफनागिस्तानको अवस्थातिर जानसक्ने बताएका छन् ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै फाल्न सक्ने बताए ।

‘अलिकति अदालतले बचाएन भने के हुन्छ यो देशमा? कस्तो अवस्था देशले व्यहोर्नुपर्छ? त्यसकारण हामीले अदालतलाई पनि किन खबरदारी नगर्ने?’, उनले भने, ‘मलाई विश्वास छ, संसद् पुनःस्थापना हुन्छ। संसद् पुनःस्थापना हुनै पर्छ । नभए, यो मुलुकमा बर्बादी हुन्छ । गृहयुद्धको स्थिति आउनसक्छ। अफनागिस्तानको अवस्थातिर नेपाल जानसक्छ ।’

पौडेलले सभापति शेरबहादुर देउवा र उनी पक्षधरले चुनावप्रति देखाएको आशक्तिप्रति असन्तुष्टि जनाउँदै संविधान र लोकतन्त्र बच्यो भने मात्रै चुनावको अर्थ हुने बताए ।

उनले नेपालको आजको व्यवस्था भनेको संसद् र कार्यकारीको सर्वोच्चता नभई संवैधानिक सर्वोच्चताको व्यवस्था भएको प्रष्ट पारे ।

पौडेलले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्ने निर्णय गरिसकेको भएपनि नेताहरूले जनतालाई गुमराहमा पार्ने कुरा बोल्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्