Logo
Logo

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी


दृष्टि संवाददाता


सुनसरी, ६ फागुन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै त्यहाँका चिकित्सकले आन्दोलन गरिरहेका छन् ।

दुई साताअघि लगातार धर्ना बसेपछि माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच भएको वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएको थियो ।

तर, ९ दिन बितिसक्दा पनि माग पूरा नभएपछि तालाबन्दी गरेको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्