Logo
Logo

वागमती प्रदेशसभाको बैठक तत्काल बोलाउन कांग्रेसको माग


दृष्टि संवाददाता


हेटौंडा, ७ फागुन । वागमती प्रदेशसभाको बैठक अन्योल बनेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बोलाउन माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपनि निक्र्यौल हुन नसक्दा राजनीतिक संकट उत्पन्न भएको भन्दै तत्काल बैठक बोलाएर निकास दिन कांग्रेसले सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेकोछ ।

मुख्यमन्त्री पौडेलको दबाबमा सभामुख श्रेष्ठले पटक–पटक प्रदेशसभा बैठक स्थगित गरेर स्वातन्त्र व्यवस्थापिकाको मूल्यमान्यतामा ठेस पुर्याएको कांग्रेसको आरोप छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रदेशसभाका बैठक लगातार स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको भन्दै तत्काल प्रदेशसभा सञ्चालनको माग गरिएको छ ।

विज्ञप्तीमा नेकपाका दुबै समूह र कांग्रेस सहितको बैठक सञ्चालन गर्ने सहमति भएपनि सूचना टाँसेर विशेष कारण भन्दै स्थगित गरेकामा असहमति जनाएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संसदीय अभ्यासको मर्म र भावनाविपरीत अचानक भएको यस्तो कार्य पटक–पटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्