Logo
Logo

तीन महिनादेखि हुम्लाको स्वास्थ्य चौकी बन्द, अहेब पढेकाले बचाए एक जनाको ज्यान


दृष्टि संवाददाता


हुम्ला, १० फागुन । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ को तल्लोपालीस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयले सामान्य ज्वरो आउँदासमेत सिटामल किन्न पाएका छैनन् ।

तल्लोपालीमा रहेको स्वास्थ्य चौकी गत मंसिरदेखि स्वास्थ्यकर्मी नहुँदा बन्द भएको हो । सडक सञ्जालसँग नजोडिएको स्थानमा स्वास्थ्य संस्था बन्द भएपछि हजारौँ स्थानीय औषधोपचारबाट वञ्चित भएका हुन् ।

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी मंसिर पहिलो साताबाट हिँडेका र हालसम्म नफर्किएको चंखेलीको वडा नम्बर ४ का स्थानीय विष्णुभक्त जैसीले बताए ।

स्वास्थ्य संस्थामा सिटामोलसमेत दिने कर्मचारी नभएपछि तल्लोपाली र माथिल्लो पालीगाउँका ९५ घरधुरी १ घन्टा टाढाको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य छन् ।

स्वास्थ्य संस्थामा सामान्य एउटा बोर्डसमेत नराखेको पाइएको छ । तल्लोपालीको स्वास्थ्य चौकीमा अनमी २, अहेब २, एचए १ र कार्यालय सहयोगी २ जनाको दरबन्दी छ ।

सबै कर्मचारी स्वास्थ्य संस्था रित्याएर काममा लागेपछि चौकी बन्द भएको हो । ३ दिनदेखि सुत्केरी व्यथाले घरमै छटपटाएकी महिलालाई स्वास्थ्य संस्था लगिए पनि स्वास्थ्यकर्मी नभएपछि घरमै फर्काइएको बिरामीका आफन्तको गुनासो छ ।

गाउँमा एक जना जना अहेब पढेर आएका तर स्वास्थ्य संस्थामा कार्यरत नरहेका स्वास्थ्यकर्मीले आफैं सलायन चढाएपछि ती महिलाको ज्यान बचेको हो ।

मौसम परिवर्तनसँगै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी र झाडापखालाका बिरामी बढे पनि स्वास्थ्य चौकी बन्द हुँदा स्थानीय उपचारबिनै रित्तो हात घर फर्कन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्