Logo
Logo

मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु


दृष्टि संवाददाता


काठमाडौँ, १० फागुन । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । बहुप्रतीक्षित उक्त खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवार पानी हालेर परीक्षण थालिएको हो ।

खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका–१ अम्बाथानको मुख्य गेट फुटेर आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

सुुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने छ । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन् ।

पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने छ । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्