Logo
Logo

गुमेको भूभाग फिर्ता ल्याइन्छ, महाकाली नदी बेचेकाे हाेइन : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


कञ्चनपुर, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।

वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।

यस्तै, उनले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताएका छन् । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भने,‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।’

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको प्रधानमन्त्रीले बताए । ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने प्रधानमन्त्री ओलीको दावी थियो ।

महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको नहर निर्माण सुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्