Logo
Logo

कोरोनाले पाँच लाख अमेरिकी नागरिकको मृत्यु, पाँच दिन राष्ट्रिय झण्डा झुकाइने


दृष्टि संवाददाता


अमेरिका । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेहरूको संख्या पाँच लाख नाघेको छ । सोमबारसम्म पाँच लाख ७१ जनाको मृत्यु भएको अमेरिकाको सरकारी तथ्यांकमा उल्लेख छ ।

पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु हृदयविदारक भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

बाइडेनले सोमबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै एउटा राष्ट्रको रूपमा यस्तो कठोर भाग्य आफूहरूले स्वीकार्न नसक्ने बताएका छन् ।
‘लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौं तर यो समयलाई हामीले आफूलाई विक्षिप्त भएर केही गर्नै नसक्ने हुन दिनुहुन्न,’ बाइडेनले भने,‘परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति हामीले रोक्नुपर्छ। यो लडाइँ हामी सबै एक अमेरिकी नागरिक भएर लड्नुपर्छ।’

सम्बोधनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायत अधिकारीहरूले मृतकको सम्झनामा मौन धारण गरेका थिए। बाइडेनले अमेरिकाभरि मौन धारण गर्न आग्रह गरेका थिए।

बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन पनि निर्देशन दिए । संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइने छ ।

सन् २०१९को अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको महामारीले संसारमा अहिलेसम्म २४ लाख ८४ हजार मानिसको मृत्यु भएको छ। तीमध्ये १९ प्रतिशत मानिस अमेरिकाका छन्। विश्व जनसंख्यामा अमेरिकाको हिस्सा ४ प्रतिशतमात्र छ।

प्रतिक्रिया दिनुहोस्