Logo
Logo

धरानमा खानेपानी काण्ड


दृष्टि संवाददाता


धरान, ११ फागुन । एउटा नगरप्रमुखले सुझवुझपूर्ण काम नगरिदिँदा नगरवासीले कसरी दुःख खेप्नुपर्छ भन्ने कुराको सानो उदाहरण धरानको एकीकृत खानेपानी योजना हो । झण्डै अढाई अर्ब रुपैयाँ खर्च भएको धरानको खानेपानी योजना गत वर्ष नै सम्पन्न भइसकेको छ । तर धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख राईले खानेपानी संस्थालाई बोर्डमा गाभ्न नसक्दा महिनामा ढेड करोड रुपैयाँ प्रत्यक्ष घाटा त भएकै छ जनताले पानी खान नपाएर छटपटिन थालेका छन् ।

यदि, नगरप्रमुखले बोर्ड चलाउने हुति छैन भने म चलाएर देखाउँछु भनी नेकपाकी उपमेयर मञ्जु भण्डारी उफ्रिएपछि बैठक तात्तिएको कुरा बैठकमा सहभागी एक वडाध्यक्षले बताए । खानेपानी संस्थानलाई बोर्डमा हस्तान्तरण गर्न ढिलाइ गर्नमा नगरप्रमुख राई नै मुख्य बाधक भएको कुरा सबैले बुझिसकेका छन् ।

एशियाली विकास बैंकको ऋण सहयोगमा शहरी विकास परियोजनाअन्तर्गत पाँच वर्षअधि धरानमा शुरु भएको खानेपानीको परियोजना सम्पन्न भएको एक वर्ष बितिसकेको छ । परियोजना सम्पन्न गरेर ठेकेदार, कन्सल्टेन्ट कम्पनीले धरान छाडिसकेका छन । हालसम्म धरानमा खानेपानी संस्थानले पानी खुवाउँदै आएको छ । तर अब भने नगरप्रमुख अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी संस्थानको सम्पूर्ण सम्पत्ति तथा दायित्व हस्तान्तरण गरी आफैँले सञ्चालन गर्नु भनी मन्त्रिपरिषद्को निर्णयअनुसार खानेपानी मन्त्रालयले स्वीकृति पनि दिइसकेको छ । तर एक वर्षअघि उपनिर्वाचनमार्फत नगरप्रमुखमा निर्वाचित तिलक राई भने परियोजनामा भ्रष्टाचार भएको हुनसक्ने भएकाले त्यसको छानविन नभई परियोजना आफूले सञ्चालन नगर्ने भनी ढिपी कसिरहेका छन् ।

जसको कारण खानेपानी संस्थानले पानी बेचर आम्दानी गर्दै आएको मासिक एक करोड त गुमाएकै छ परियोजनाको ऋण प्रतिमहिना ५० लाख पनि तिर्नुपर्दा प्रतिमहिना ढेड करोड रुपैयाँ घाटा व्यहोरिरहेको कुरा बोर्डका सदस्य देवराज श्रेष्ठ बताउँछन् । हाल धरानमा वितरण भइरहेको पानीको पाइप लाइन र पानीका स्रोतहरु खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन बोर्डले आ–आफनै ढंगले प्रयोग गरिरहेकाले कतै पानीको छेलोखेलो छ भने कतै पानी नै नआउँदा नगरवासीले ठूलो सास्ती खेप्नुपरेको कुरा नागरिक समाजका सदस्य महेश श्रेष्ठ बताउँछन् । तर नगरप्रमुखले बोर्डलाई पनि अनिर्णयको बन्दी बनाउँदा बोर्ड र खानेपानीका कर्मचारीलाई भने झनै ठूलो समस्या परेको खानेपानी धरानका इञ्जिनीयर रामकुमार श्रेष्ठ बताउँछन् । परियोजना सम्पन्न हुन एक वर्षअघि नै खानेपानी संस्थानबाट सम्पत्ति दायित्व लिएर बोर्डले सञ्चालन गर्न थाल्नुपर्ने परियोजना एक वर्ष बितिसक्दा पनि लिन नसकेको विषयमा आइतबार बसेको नगर समितिको भेलामा सदस्यहरुले नगरप्रमुखको घोर विरोध गरेका छन् । यदि, नगरप्रमुखले बोर्ड चलाउने हुति छैन भने म चलाएर देखाउँछु भनी नेकपाकी उपमेयर मञ्जु भण्डारी उफ्रिएपछि बैठक तात्तिएको कुरा बैठकमा सहभागी एक वडाध्यक्षले बताए । खानेपानी संस्थानलाई बोर्डमा हस्तान्तरण गर्न ढिलाइ गर्नमा नगरप्रमुख राई नै मुख्य बाधक भएको कुरा सबैले बुझिसकेका छन् । किनभने, गत उपनिर्वाचनमा यिनै राईको नेतृत्वमा खानेपानी संस्थानलाई बोर्डमा नबुझाउन भनी तत्कालीन नगरपालिकाकी उपप्रमुख मन्जु भण्डारीसमक्ष नेपाली कांग्रेसको तर्फबाट ज्ञापनपत्र बुझाउन नारा जुलुससहित नगरपालिका गएका थिए । अहिले उनै नगरपालिकाका नगर प्रमुख भएपछि संस्थानलाई बोर्डमा गाभ्न अप्ठयारो भइरहेको नेपाली कांग्रेसका एक वडाध्यक्ष बताउँछन् ।

कर्मचारी भर्नाको विरोध

खानेपानी संस्थानबाट सम्पत्ति दायित्व र कर्मचारी समायोजन गर्न नसकेर पानी वितरण कार्य अलपत्र पारेको अवस्थामा नगरप्रमुख राईले भने चोर बाटोबाट सुटुक्क १६ जना कर्मचारी भर्ना लिएका छन् ।

बिनाप्रतिस्पर्धा लिइएको कर्मचारीहरुमा नेपाली कांग्रेससम्वद्ध जुनियर इन्जिनीयर पदमा सुसन थापा, कम्प्युटर अपरेटर संगीता राई, मुना विश्वकर्मा, इलेक्ट्रिसियन चुडामणि गुरागाईँ, सुपरभाइजरमा तेजराज राई सिनियर प्लम्बरमा ईश्वरीप्रसाद पोखरेल, स्टोर किपरमा प्रवीण तामाङ, पम्प अपरेटरमा आकाश राई, अमर सुवेदी र लोकमणि श्रेष्ठ मिटररिडरमा कृष्ण राई, सफल भट्टराई, राजीव श्रेष्ठ र ईश्वर विक, चौकीदारमा अनिस कटुवाल र सुवास तामाङ तथा कार्यालय सहयोगीमा चम्पा लिम्बू रहेका छन् ।

बोर्र्ड बैठकलाई समेत वाइपास गरी बिना प्रतिस्पर्धा एकै पटक १७ जना प्राविधिक कर्मचारी करारमा लिएपछि नगरप्रमुखको सर्वत्र विरोध हुन थालेको छ । “बिना छलफल बिनाविधि प्रकृया कर्मचारी भर्ना गरिनु भनेको सरासर गलत हो यसको हामी घोर विरोध गर्छौ भन्छ– ‘जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बू । नेकपा धरानका इन्चार्ज चोत्लुङ “बोर्डको कर्मचारी नियमावली बनिसकेको र लोकसेवाबाट स्वीकृत पनि भइसकेको अवस्थामा हतारमा चोर बाटोबाट नियुक्ति गरिनु गलत भएको बताउँछन् । उनी भन्छन् संस्थानसँगको सहमतिअनुसार पनि पहिलादेखि गर्नेलाई निरन्तरता, त्यसपछि संस्थानका कर्मचारीको समायोजन र त्यसपछि मात्र खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नुपर्ने छ । तर यसरी हचुवाको भरमा कर्मचारी भर्ना गर्न मिल्दैन ।” तर नेपाली कांग्रेस धरान नगरका सचिवसमेत रहेका बोर्डका सदस्य श्याम पोखरेल पहिला पनि त्यसरी नै मान्छे राखिएको रहेछ त्यसैले अहिले पनि अध्यक्षले त्यसरी नै राखेको होलाजस्तो लाग्छ भन्छन् ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को व्यवस्थाअनुसार गठन भएको खानेपानी व्यवस्थापन बोर्डको कर्मचारी प्रशासन नियमावली बनेर लोकसेवा आयोगबाट समेत स्वीकृत भइसकेको छ । सो नियामावलीअनुसार खानेपानी संस्थानबाट समायोजन भई आउने कर्मचारीहरुको व्यवस्थापन भइसकेपछि मात्र अपुग कर्मचारीहरुको खुला प्रतिस्पर्धाबाट भर्ना लिनुपर्ने प्रावधान रहेको कुरा आयोजना प्रमुख राजु पोखरेल बताउँछन् ।

पानी खुवाउन नसक्ने संस्थानको विज्ञप्ति

खानेपानी संस्थान धरानले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै पानी लिकेज भएको थाहा नहुने गरेकाले एक दिन बिराएर पनि खानेपानी वितरण व्यवस्थित गर्न नसक्ने जनाएको छ । यो विज्ञप्ति आएकै दिन बोर्डको तर्फवाट आकस्मिक पत्रकार सम्मेलन गरी सो विज्ञप्तिप्रति आपत्ति जनाएको छ । अहिलेसम्म खानेपानी वितरणको जिम्मा लिएर महसुल पनि उठाउँदै आएको संस्थानले पानी खुवाउन सक्दिनँ भनेर विज्ञप्ति निकाल्नु गैरजिम्मेवारी कुरा हो भनेका छन् । पत्रकार सम्मेलनमा आयोजना प्रमुख राजु पोखरेलले भने खानेपानी बोर्ड शुरुदेखि नै संस्थानसँग सहकार्य गर्दै आएको बेला धरानका जनतालाई खानेपानी खुवाउन सक्दिनँ भनेर भ्रम फैलाउन खोज्नु आपत्तिजनक कुरा हो भनेका छन् ।

यसैबीच आइतबार बसेको धरान उपमहानगरपालिकाको नगर समिति बैठकमा सदस्यहरुले नगरप्रमुखको कारण धरानमा पानीको कृत्रिम अभाव भएको भन्दै सम्पूर्ण नगरवासीलाई रित्तो गाग्री बोकेर नगरसभामा आउन आह्वान गरेका छन् ।

ठूलो धनराशी खर्च गरेर मुखैमा आइसकेको पानीलाई वितरण गर्न नसक्ने खानेपानी बोर्ड, जनप्रतिनिधिहरुको गैरजिम्मेवारपूर्ण हर्कत देखेर स्थानीय जनताहरु भने कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्दै आक्रोश पोख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्