Logo
Logo

कस्मेटोलोजिस्ट डा. रेखा भन्छिन्ः ‘ब्यूटिसियन नभएको भए कुनै क्याम्पसमा पढाइरहेको हुन्थे’


दृष्टि संवाददाता


सुन्दरता र सौन्दर्यताप्रति नतमस्तक नहुने सायदै होलान् । तर, कसरी सुन्दर बन्ने ? त्यो चिन्ता एकातिर छ । सुन्दर बन्न हरेकको चाहना र इच्छा हुन्छ । त्यसका लागि अनेक पद्दति र उपायहरु खोजिन्छ । ती पद्दतिमध्ये एक हो, एरोमा थेरापी अर्थात बासनाबाट सौन्दर्य ट्रिटमेन्ट पद्दति । यही सौन्दर्य पद्दतिलाई अँगाल्दै रेखा थापाले डाक्टर गरेका छन् । अर्थात् कस्मेटोलोजिस्ट, एरोमा थेरापिष्ट डा. रेखा । इलाममा जन्मिएकी रेखा साैन्दर्य व्यवसायीबीच सम्भवतः एक्लो डाक्टर हुन् । बौद्धस्थित ‘कोजी ब्युटि सैलून एण्ड एकेडेमी’की सञ्चालक एवं एरोमा उपचार पद्दतिकी डा. रेखा भन्छिन्, ‘नेपालमा अहिलेसम्म एरोमा थेरापी पद्दतिमार्फत ब्यूटि ट्रिटमेन्ट गर्नेहरु त्यति छैनन् । तर, विस्तारै मानिसहरुले बुझ्ने जानेछन् ।’ सन् २०१६ मा भारतको कोलकताबाट एरोमा थेरापीमा डाक्टर गरेकी रेखा एक दशकदेखि सौन्दर्य व्यवसायीमै छिन् । डा. रेखा सौन्दर्य शिक्षाका लागि ट्रेनर पनि हुन् । कोजी ब्युटि सैलून एण्ड एकेडेमीमा सौन्दर्यसम्बन्धी ट्रेनिङसमेत दिँदै आएकी डा. रेखासँग दृष्टिको जम्काभेट :

सौन्दर्य व्यवसायी क्षेत्रमा कसरी लाग्नुभयो ?

सुरुमा यो क्षेत्रमा लाग्ने कुनै सोच थिएन । ब्याचलर सकेर मास्टर जाेइन गर्नु अगाडि त्यतिकै बस्नुभन्दा केही गरौँ भन्ने सोचेर ब्यूटिसियन काेर्स लिए । त्यसपछि मास्टर जाेइन पनि गरे र काठमाडौं कुलेश्वरमा कोजी ब्युटि सैलून खोलेँ । त्यहीबीचमा मैले विवाह गरेँ । विवाह गरेपछि केही महिना इलाम नै गएर बसेँ । र, काठमाडौं आएपछि पुनः सौन्दर्य व्यवसायीलाई अगाडि बढाएँ ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

१४ वर्ष भयो । कुलेश्वरबाट कोजी ब्युटि सैलून सुरु गरेकी हुँ । अहिलेचाहिँ मेरो सैलून बौद्धमा छ ।

सौन्दर्यविधामा डाक्टर कहाँबाट गर्नुभयो ?

सौन्दर्य विधामा भन्दा पनि अल्टरनेटिभ मेडिसिनसम्बन्धी हो । एरोमा थेरापीमा मैले बिएटिएस एड गरेकी हुँ, जसमा नामको अगाडि डाक्टर लेख्न पाइन्छ । मैले पढेको राजस्थानमा हो ।

नामको अगाडि डाक्टर लेख्न थाल्नुभएको कति भयो ?

सन् २०१६ एरोमा थेरापीसम्बन्धी कोर्ष पूरा गरेकी हुँ । त्यही वर्षदेखि आफूलाई डाक्टर बनाएकी हुँ ।

सबैले बुझ्नेगरी भन्दिनुस् एरोमा थेरापी के हो ?

एरोमा भनेको वासना र थेरापी भनेको उपचार । यो वासनाबाट सौन्दर्य उपचार अर्थात् ट्रिटमेन्ट गर्ने पद्दति हो । यो पद्दतिबाट शरीरको कुनै पनि रोगको उपचार गरिन्छ । विशेषगरी यो पद्दतिबाट स्किन र हेयर ट्रिटमेन्ट गरिन्छ ।

एरोमा थेरापी अर्थात वासनाबाट ट्रिटमेन्ट प्रोसेसिङ के हो ?

एरोमा तेल शत प्रतिशत शुद्ध हुन्छ । त्यसका लागि जतिपनि बोटबिरुवाबाट प्रोसेस गरेर तेल निकाल्छौँ, त्यसबाट ट्रिटमेन्ट गर्छौँ । जसबाट बडी मसाज गरेर उपचार गर्न सकिन्छ ।

यो उपचार विधि नेपालमा कतिको प्रचलनमा छ ?

अहिलेसम्म त खाशै छैनन् । तैपनि सैलूनमा आएकाहरुलाई आवश्यकता हेरेर एरोमा थेरापी पद्दतिमा उपचार गर्दै आएको छु । विस्तारै मानिसहरुले एरोमा थेरापीबारे बुझ्दै जानेछन् । त्यसपछि यो उपचार विधि पनि लोकप्रिय हुनसक्छ ।

तपाइँबाहेक एरोमा थेरापीका डाक्टर अरु कोही छ ?

खै, मलाई त थाहा छैन । सम्भवतः आजसम्म म मात्रै होला ।

सौन्दर्यकर्मी नभएको भए के बन्नु हुन्थ्यो ?

मलाई सानैदेखि लेक्चरल बन्ने इच्छा थियो । मेरो साथीहरु पनि लेक्चरल भएका छन् । त्यसपछि गीत गाउन पनि रुचाउँथे । यदि सौन्दर्य व्यवसायी नभएको भए यतिखेर कुनै क्याम्पसमा पढाइरहेको हुन्थेँ ।

गायिका भएको बन्नु भएको भए नि ?

गायिका भएको भए देशविदेशको कार्यक्रममा व्यस्त हुन्थँे होला । तर, व्युटिसियन भएर मान्छेहरु राम्री बनाइरहेकी छु ।

तपाइँको सुन्दरतालाई देखेर मोडलिङको अफर त आएको छैन ?

म खाशै सुन्दर त छैन । तैपनि मोडलिङका लागि अफर नआएको पनि होइन । तर, मलाई मोडलिङप्रति सानैदेखि रुचि जागेन ।

तपाइँको प्रेम विवाह कि मागी ?

प्रेमपछिको मागी विवाह हो ।

हेर्दा विवाहित जस्तो देखिनुहुन्न । अहिले पनि प्रेम प्रस्ताव आउँछ होला है ?

त्यो त आउँछ । तर, म कहिल्यै झुठ बोल्दिनँ । म विवाहित हुँ । मेरो ५ वर्षकी छोरी छ ।

प्रतिक्रिया दिनुहोस्