Logo
Logo

उच्च ब्याजदरका कारण व्यवसायी संकटमा परेः अध्यक्ष राणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विकसित देशहरुमा २-३ प्रतिशत ब्यादरमा बैंकबाट कर्जा पाइन्छ । तर, गरिब देश नेपालका व्यवसायी तथा सर्वसाधरणले भने १० प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा पाउँदैनन् ।
कर्जामा बैंकका उच्च दररेटको विगतमा पनि विरोध हुँदै आएको थियो । यसपटक नेपाल उद्योग बाणिज्य महासंघ सडकमै आएको छ । महासंघकी अध्यक्ष भवानी राणा व्यवसायीलाई राहत दिलाउन सडकदेखि सिंहदरबारसम्म पुगेकी छिन् । ‘उच्च ब्याजका कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको छ, लागत बढेको छ, जिल्लाका साथीहरूसमेत आन्दोलित भएका छन्, त्यसकारण हामी प्रधानमन्त्रीसम्म पुग्नुपरेको हो,’ अध्यक्ष राणाले भनिन् ।
छलफलमा महासंघकी अध्यक्ष राणाले बैंकले चर्को ब्याज लिएका कारण व्यवसायीहरु मारमा परेको भन्दै प्रधानमन्त्रीलाई ६ बुँदे सुझाब दिइन् ।

अध्यक्ष राणाले ५० प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने, पुर्नकर्जालाई १ खर्ब बनाउनुपर्ने, सीसीडी रेसियो पुनरावलोकन गर्नुपर्ने, स्प्रेड दर ३ प्रतिशतमा झार्नुपर्ने, डिस्काउन्टमा एलसी खोल्नुपर्ने, सरकारले विकास खर्च बढाउनुपर्ने लगायतका माग राखेकी छिन् ।
सो ज्ञापनपत्रपछि नेपाल राष्ट्र बैंकले आधार दर र स्प्रेडको गणना विधि सबै बैंकसँग मागेको छ । बैंकहरुले स्प्रेड र आधार दरको गणना विधि गलत ढंगबाट गरिरहेको आशंका गरिएको छ । यही कारण बैंकहरुको आधार दर खासगरी नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको आधार र स्प्रेड दर गणना विधि गलत भएको पाइएको छ ।


प्रधानमन्त्रीको निर्देशन
व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रपछि ओलीले हस्तक्षेप गरेरै भएपनि बैंकहरुको चर्को ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् ।
बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलनरत व्यवसायीहरुसहित अर्थमन्त्री, गभर्नर लगायतलाई प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफलका लागि बोलाएर प्रधानमन्त्री ओलीले ब्याज घटाउन निर्देशन दिएका हुन् ।
छलफलमा ओलीले भने,‘ब्यवसायी साथीहरु बैंकले बढी ब्याज लिएको भन्दै आन्दोलन गरिरहनु भएको छ, तपाईंहरुका माग हामीले सुन्छौं, तपाईंहरु आन्दोलन गर्न छाडिदिनुहोस्, अर्थमन्त्रीज्यू र गभर्नरसाब यही हुनुहुन्छ, ब्याज बढी भएको हो भने तपाईहरुले हस्तक्षेप गरेर भएपनि घटाउनु पर्यो ।’
प्रधानमन्त्रीसँगको सक्रियताबाट व्यवसायीले केही राहत पाउने अपेक्षा आफूहरुको रहेको महासंघकी अध्यक्ष राणाले बताइन् ।
छलफलमा उद्योगलाई मारेर बैंकले मात्रै नाफा कमाउनु नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘बैंकले मात्रै नाफा कमाएर उद्योगले नाफा कमाएनन् भने बैंक पनि चल्न सक्दैनन् प्रधानमन्त्रीलले भने । प्रधानमन्त्रीले उत्पादनमूलक, कृषि र रोजगारमूलक उद्योगले सस्तो ब्याजदरमै ऋण पाउनुपर्ने व्यवस्था मिलाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिए ।
व्यवसायीहरुको माग सरकारले सम्बोधन गर्छ भनेर प्रधानमन्त्रीले भनेपछि छलफलमा सहभागी व्यवसायीहरुले ताली बजाएका थिए । मोरङका ब्यवसायीहरुले गत माघ १३ गतेदेखि बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलन शुरु गरेका थिए । त्यसपछि देशभरकै उद्योगी व्यवसायीहरुले बैंकविरुद्ध आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्