Logo
Logo

आइडलको साखः जोगाउनै गाह्रो


प्रकाश चाम्लिङ


काठमाडौं । सानैदेखि बुद्ध लामा दबाब र जिम्मेवारीको घेराभित्र हुर्के । उनी पैसा कमाएर आफ्नो बुवाआमालाई खुसी राख्न चाहन्थे । त्यही कारण बुद्धले एसएलसीलगत्तै दोहोरी साँझामा काम थाल्ने निधो गरेका थिए ।

विहानै संगीत साधना, त्यसपछि कलेज र साँझ दोहोरी धाउनु उनको दैनिकी बन्दै गयो । दोहोरी साँझमा काम गरेर पाएको तलव घरमा बुझाउने बुद्ध आफ्नो खर्च टिप्सले टार्थे । कराँतेको ब्लयाकबेल्टसमेत पाइसकेका उनी संगीतमै जीवन देख्न थालेपछि बुवालाई भन्ने गर्थे, ‘अहिले पो दोहोरीमा काम गर्छु, पछि संगीतमै केही गर्नुपर्छ ।’

बुद्ध घरको कान्छो सन्तान हुन् । बुद्धका परिवार धादिङको लापाबाट २०४२ सालमा बसाइँ सरेर पोखरामा बस्दै आएका छन् । बुद्धका बुवा–आमालाई गाउँमा गीत गाउनेको नाममा चिन्थे ।

दोहोरी साँझमा गाएरै जीवन चलाइरहेका दिदी आँचल लामा र भिनाजु मनोज बास्तोलादेखि गाउन प्रेरणा पाएका बुद्धलाई संगीतको औपचारिक शिक्षा लिन भिनाजुले गुरुसम्म पुर्याए ।

८ बर्षको उमेरबाट संगीत सिकेका बुद्ध सन् २०१२ मा ११ बर्षको उमेरमै बिग एफएम १०१.२ ले आयोजना गरेको ‘बिग आइकन’ नामक प्रतिस्पर्धामा चौँथो भएका थिए । त्यसपछि उनलाई संगीतप्रति चासो झन् बढ्यो ।

आईडलको यात्रा
उमेर र अनुभवले आफूभन्दा पाकासँगको प्रतिस्पर्धा त छँदैथ्यो । मिहिनेत, संघर्ष र आत्मनिर्भरताले बुद्धलाई ‘नेपाल आइडल’को स्टेज नौलो लागेन । ‘नेपाल आइडल’को पहिलो सिजनको पोखरामा अडिसन हुँदा नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलको टिम उनलाई भेट्न बुद्धले संगीत सिक्ने ठाउँमै पुगेका थिए । लक्ष्मणले बुद्धलाई सोझै ग्राण्ड अडिशनका लागि बोलाएका थिए ।

बुद्धलाई संगीत सिकाइरहेका गुरु तीर्थराज पोखरेलले ‘नेपाल आइडल’को मञ्चमा जान उत्साहित गरेका थिए । त्योभन्दा अगाडि केही प्रतिस्पर्धामा भाग लिइसकेका बुद्धलाई गायन प्रतियोगिताबाट भरोसा उडिसकेको थियो ।

नेपाल आइडल पनि त्यही होला भन्ने बुद्धलाई लागेको थियो । तर, गुरुको हौसलाले आइडलको मञ्चसम्म पुगे । अन्नतः उनै बुद्धले ‘प्रथम नेपाल आइडल’ हुत्याउन सफल भए ।

आइडल बनेपछि बुद्ध
आयोजकको सर्तअनुसार नेपाल आइडल बनेपछि उनी निकै व्यस्त भए । त्यतिखेर बुद्धले ‘नेपाल आइडल’ जितेकामा अधिकांश दर्शक खुसी थिए ।

अझ उनको रुचि र मर्म बुझेका र सुनेकाहरुले त ‘बुद्धले अब केही गर्नेछन्’समेत भने । नेपाल आइडल जितेपछि बुद्धका बुबाले भनेका थिए, ‘बुद्धले सिक्न नछोडोस्, पढ्न नछोडोस् र नमात्तियोस ।’

हुन पनि हरेक क्षेत्रमा सफलता पाउनु मिहिनेत र धैर्यता चाहिन्छ । सफलतालाई जोगाइराख्न झन् कठिन कुरा हो । सगरमाथा चढ्नु कुनै ठूलो कुरा होइन, सगरमाथाको टुप्पोमा पुगेर ओर्लिन सक्नु ठूलो कुरा हो । त्यस्तै एक पटक पाएको सफलतालाई जोगाउनु सक्नु नै सफलता हो ।

त्यो प्रयास र साखः बुद्धमा कति छ ? त्यो उनैलाई थाहा छ । नेपाल आइडल बन्दा जसरी उनका फ्यान खुसी भएका थिए, तर, अहिले उनी केही ओझेल परे कि भन्ने भान गर्न थालेका छन् ।

नेपाल आइडलमा बुद्धले जुन चर्चा पाएका थिए, त्यतिखेर उनलाई धान्नै गाह्रो भएको थियो । तर, अहिले आएर आफ्नो साखः जोगाउनै गाह्रो हुन थालेको छ । नेपाल आइडलबाट आएका अन्य प्रतिस्पर्धीले सांगीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन थालेपनि बुद्धले आइडल भएर त्यो स्थान बनाउन नसकेको आरोप लाग्न थालेको छ ।

के गर्दैछन् बुद्ध ?
सबैलाई थाहै होला । पछिल्लो समय आइडल वा रियालिटी स्टारहरु केही समय सबैको अगाडि वाहीवाही, त्यसपछि कता खोई ? भएका छन् । प्रथम नेपाल आइडलको उपाधि पाएपछि बुद्धमा पनि केही महिना सबैको वाहवाही भए । तर, हिजोआज उनी कता खोई ? भनेर खोज्न थालेका छन् ।

यसको मतमलव बुद्धले पनि नेपाल आइडलको साखःलाई लामो समयसम्म जोगाउन नसकेको भन्ने हल्ला चल्न थालेको छ । उनी व्यक्तिगत रुपमा व्यस्त होलान्, तर, आइडलको हिसाबले उनी ओझलमा पर्न थालेका छन् ।

नेपाल आइडल बनेछि रातारात हिरो बनेका बुद्धको डिमाण्ड पनि बढ्दै थियो । यसैबेला उनी हाई डिमाण्ड गर्न थाले । भनिन्छ, ‘कलाकारका लागि ‘हाई डिमाण्ड’ पतनको बाटो हो ।’ नेपाल आइडल भएपछि बुद्धका देश विदेशमा फ्यान बढ्दै गएका थिए ।

त्यतिखेर बुद्धले यति चर्चा कमाए कि, बुद्ध आफैँ चकित हुन्थे । एकाएक पाएको मायाले बुद्धको आँखा पनि रसाउँथ्यो । उनले नसोचेको सफलता थियो उनका लागि नेपाल आइडल । र, अर्को अर्थमा भन्ने हो भने बुद्धले ‘नेपाल आइडल’ नामको एउटा राम्रो प्लेटफर्म पाए ।

त्यो प्लेटफर्मलाई नै सदुपयोग गरेर आफ्नो सांगीतिक करिअरलाई बचाइराख्नमा भने बुद्ध चुक्दै गएका छन् । यो कुरा बुद्धले पनि पक्कै महशुस गरेको हुनुपर्छ ।

भनिन्छ, ‘घोडा चढेरमात्र गन्तव्यमा पुग्न सकिँदैन । त्यो घोडालाई आफैले गन्तव्य देखाउनुपर्छ ।’ बुद्धका लागि मात्र नभएर जति पनि रियालिटी स्टार वा आइडलहरु छन्, उनीहरुले आफूले जितेको आइडल उपाधिलाई घोडाको रुपमा लिनुपर्छ ।

यसको मतलव मिहिनेत गर्नु छोड्नु हुँदैन । आयोजकले पनि यही सम्झेको हुनुपर्छ । रियालिटी शो एउटा यस्तो माध्यम हो, जो, प्रतिभा भएर पनि जनमानसमा एक्सपोज हुन नसकेकालाई एक्सपोज गराउनु हो । सिधा कुरामा भन्ने हो भने, आइडल उपाधि एउटा पुल हो । त्यो पुल तर्नु र नतर्नु आफैँमा भरपर्छ ।

रियालिटी शोको इतिहासमा बुद्धले नाम राखेका छन् । यसमा आम संगीतप्रेमीले गर्व गर्नुपर्छ । नेपाल आइडल नेपालमा भएको पहिलो फ्रेन्चाइज शो हो । त्यसैले पनि नेपाल आइडलको बेग्लै महत्व छ । तर, आज प्रथम नेपाल आइडल नै कहाँ छन् भनेर खोज्ने अवस्था आयो भने अगामी दिनमा हुने रियालिटी शोहरुले पनि सोच्नुपर्ने हुन्छ ।

आइडल धान्नै मुस्किल
नेपाल आइडलमा बुद्धले जुन चर्चा पाएका थिए, त्यतिखेर उनलाई धान्नै गाह्रो भएको थियो । तर, अहिले आएर आफ्नो साखः जोगाउनै गाह्रो हुन थालेको छ ।

नेपाल आइडलबाट आएका अन्य प्रतिस्पर्धीले सांगीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन थालेपनि बुद्धले आइडल भएर त्यो स्थान बनाउन नसकेको आरोप लाग्न थालेको छ । तर, बुद्ध यो आरोप अस्वीकार गदैनन् । उनले भन्दै आएका छन्, ‘को कति चर्चित छ भन्ने त तर्शकको माझमा पुगेपछि थाहा हुन्छ ।’

उनले मिडियाहरुमा भन्दै आएका छन्, ‘मैले जे गर्दैछु म्युजिकका लागि गर्दैछु, अझै राम्रो गर्न चाहन्छ ।’ तर, पछिल्लो समय उनी मिडियालाई समेत समय दिन छाडेको आरोप लाग्न थालेको छ । यस्ता आरोपहरु लाग्न थालेपनि उनी निर्धक्क छन् ।

हुन त यो चर्चामा आएको आम कलाकारको प्रवृति वा संस्कार नै भइसकेको छ । फुर्सद भएपनि आफूलाई व्यस्त देखाउनलाई असिस्टेन्ट राखेर हिँडेका केही कलाकार नेपालमा पनि देखिएका छन् । नेपाल आइडल बुद्धले यस्ता संस्कारलाई मनबाटै आउट गरिदिए उनको लोकप्रियता कायममै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्