Logo
Logo

पूर्व आईजिपी अर्यालका छोराविरुद्ध मुद्दा नचल्ने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ फागुन ।
सर्वोच्च अदातलले पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालका छोरा आयुष अर्याललाई सफाइ दिएको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलासले एमबीबीएस अध्ययनरत अनिमेष ठाकुरको हत्यामा मुद्दा नचल्ने निर्णय सदर गरेको हो । ठाकुरको १९ असार २०७२ मा पोखरास्थित मणिपाल अस्पतालमा घरको छतबाट खसेर मृत्यु भएको थियो ।


अनिमेषका बाबु गरिबदास ठाकुरले ‘छोराको मृत्यु नभई हत्या भएको’ दाबी गर्दै आयुषविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, जिल्ला प्रहरीका कार्यालय कास्कीले जाहेरी दर्ता गर्न नमानेपछि उनले तत्कालीन पुनरावेदन अदालत पोखरामा रिट निवेदन दर्ता गराएका थिए ।

रिट सुनुवाइ क्रममा विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीले गरिबदासले ‘हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको’ भन्दै जवाफ पठाएपछि रिट खारेज भएको थियो । उनले ‘छोराको हत्या आईजीपी अर्यालको छोराले गरेको’ दाबी गर्दै प्रहरीमा दिएको किटानी जाहेरमा ‘अनुसन्धान नभएको’ भन्दै २०७२ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

तत्कालीन समय प्रहरीको प्रमुख रहेका अर्याललेआफ्नो प्रभावकै कारण हत्या घटना लुकाएको दाबीसहित किटानी जाहेरी दिइएको थियो । अर्याल २०७० मंसिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुख थिए । गरिबदास स्वास्थ्य मन्त्रालयका सहसचिव थिए । ठाकुरको मृत्यु आयुषका मिल्ने केटी साथी प्रतिशा प्रधान बस्ने घरको छतबाट खसेर भएको थियो । उनको हत्या भएको र त्यसमा तत्कालीन आईजीपी पुत्र‘आयुषको संलग्नता रहेको हुन सक्ने’ भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
प्रतिशालाई अनिमेष मन पराउँथे । राती मदिरामा मात्तिएर अनिमेष उनको डेरामा पुगेका थिए । त्यहाँ आयुष र अन्य साथी पनि थिए । मदिरामा मात्तिएर झगडा भएपछि अनिमेष तल झरेका थिए । उनी लडेर खसे वा हाम फाले खुल्न सकेको छैन । अनिमेष र आयुष दुवै जना मिल्ने साथी थिए ।

प्रतिक्रिया दिनुहोस्