Logo
Logo

उर्लाबारी घटनामा छानविन समितिको प्रतिवेदन : ‘मानवीय त्रुटी’ ले मिसिलमा फरक फोटो


दृष्टि संवाददाता


मोरङ । मोरङको उर्लाबारी–५ का प्रविण बाँस्तोला मृत्यु सम्बन्धमा छानविन गर्न गठित समितिले छानविन सकेर प्रतिवेदन बुझाएको छ । डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले घटनाको छानविन गरेको हो ।

छानविन समितिका संयोजक मानबहादुर राईले छानविन प्रतिवेदन बुझाएको जानकारी दिएका छन् । मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले प्रविणको मिसिलमा ‘फरक ब्यक्तिको फोटो परेको’ निचोड निकालेको छ ।

छानविन समितिको प्रतिवेदनमा फोटो फरक पर्नुलाई ‘मानविय त्रुटी’ भनिएको छ । पुस ५ मा अनुसन्धान शुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खिचेको थियो । उर्लाबारीमा त्यहिबेला करेन्ट लागेर अर्को ब्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडितकी बहिनी सदिक्षा बाँस्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक ब्यक्तिको फोटो राखेको दाबी गरेकी थिइन् ।

‘फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा फोटो चाहिँ फरक मान्छेको परेको देखिन्छ’ मोरङका एसपी सन्तोष खड्काले भने, ‘दुई वटा पेजमा बाँस्तोलाको र एउटा फोटो चाहिँ करेन्ट लागेरको मान्छे परेको देखिएको छ ।’

ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले सो घटनाको अनुसन्धान गरेका थिए । पुस ४ मा साथीको डेरामा सुतेका प्रविणको राति हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषण गरेका थिए । पोष्टमार्टबाट ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको छ । भिसेरा परीक्षण गर्दा विष खुवाएको पुष्टि भएको छैन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमा ‘बाँस्तोलालाई कर्तब्य गरेर हत्या गरेको हुनाले हदैसम्मको कारवाही हुनुपर्छ’ भन्ने राय सहितको प्रतिवेदन बुझाएको थियो । बाँस्तोलाले मदिरा पिएको हुनाले उनी बल गर्न नसक्ने अवस्थामा भएको प्रहरीले निचोड निकालेको छ ।

विवाद भएपछि नाक र मुख थुनेर उनको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ–नाक र मुख थुनेर कर्तब्य गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्