Logo
Logo

कन्ट्रोभर्सी धेरै दिन टिक्दैन-केकी अधिकारी, अभिनेत्री


दृष्टि संवाददाता


नेपाली फिल्मकी कुसल मोडल तथा अभिनेत्री हुन् केकी अधिकारी । केही वर्षअघिसम्म उनको चिनारी यति नै हो । तर, केकीको चिनारी दिनदिनै फराकिलो हुँदै गएको छ । उनी निर्मात्री पनि हुन् । फिल्म ‘कोहलपुर एक्प्रेस’मार्फत निर्मात्री बनेकी केकीले पछिल्लो समय ‘कमेडियन च्याम्पियन’ नामक रियालिटी शोसमेत सञ्चालन गर्दै आएकी छन् । हाल फिल्म ‘बोक्सीको घर’को व्यस्त रहेकी केकी भन्छिन्, ‘नेपाली फिल्म क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउने सोच छ । त्यसैले फिल्म निर्माणमा हात हालेकी हुँ ।’ अभिनेत्री तथा निर्मात्री केकी अधिकारीसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

अहिले ‘बोक्सीको घर’ फिल्मको सुटिङमा काभ्रेमा छु । आज (सोमबार) १२औँ दिन भयो । पिपलचौर भन्ने ठाउँमा सुटिङ भइरहेको छ । अझै १५ दिन लाग्छ होला ।

‘बोक्सीको घर’ कस्तो फिल्म हो ?

सन् २०१५ मा मण्डला थिएटरमा ‘बोक्सीको घर’ नाटक मञ्चन भएको थियो । त्यही नाटक फिल्ममा रुपान्तरण गरिएको हो । यो फिल्मको कथा काभ्रेको पिपलचौरकै वास्तविक कथा हो ।

कोरोना महामारीपछि यो तपाइँको पहिलो फिल्म हो ?

कोरोना संक्रमणका कारण फिल्म ‘प्रदेशी–२’को थोरै काम रोकिएको थियो । त्यो सकेपछि यही नै हो ।

कोरोना संक्रमणयता काम गर्न सहज छ भएको हो ?

छैन । अझै गाह्रो छ । सहज हुनलाई अझै समय लाग्ला । फिल्म प्रदर्शनको अवस्था छैन । सिनेमा हलहरु खुलेर पनि नखुलेजस्तै छ । नयाँ फिल्म प्रदर्शनमा आउन सकेको छैन ।

‘बोक्सीको घर’ निर्माण गर्ने योजना लकडाउन अगाडिकै हो ?

होइन, लकडाउनकै बेला यो बनाएका हौँ । कोरोना संक्रमणका कारण फिल्मको सबै काम ठप्प भएपछि ‘बोक्सी घर’ बनाउने योजना भएको हो । त्यसपछि ६ महिना वर्कशप ग¥यौँ । म आफैँ पनि वर्कशपमा बसेँ ।

फिल्म पनि बनाउँदै हुनुहुन्छ, अनि ‘कमेडियन च्याम्पियन’ पनि, कसरी भ्याउनुहुन्छ ?

यो टिमको कुरा हो । कमेडियन च्याम्पियनमा रीमा, विशाल भण्डारी र मेरो टिम छ । कमेडियन च्याम्पियन शो अहिले विशालजीले हेर्नुहुन्छ ।

रियालिटी शो ‘कमेडियन च्याप्पियन’ कसरी जन्मियो ?

हाम्रो टिमलाई योजना र कन्सेप्टमा जन्मिएको हो । नेपाल आइडलबाट रीमाले रियालिटी शोबारे अनुभव गर्नुभयो । त्यसपछि हामी पनि एउटा रियालिटी शो गरौँ न भन्ने योजना बनाएर सुरु गरेका हौँ । दर्शकले रुचाए पनि । सिजन–२ यही २१ फागुनबाट सुरु हुँदैछ ।

जतिखेर अभिनयमा व्यस्त हुनुहुन्थ्यो, त्यतिखेरै फिल्म निर्माणमा जुट्नुभयो । के आवश्यकता थियो ?

आवश्यकता भन्ने कुरा आफैँले सिर्जना गर्नुपर्छ । अभिनेत्रीको रुपमा मात्र काम गर्दा दीर्घकालीन हुन्न । निर्माणमा हात हाल्दा फिल्म क्षेत्रमा दीर्घकालीन योगदान गर्न सकिन्छ भन्ने सोचेर निर्माणमा हात हालेकी हुँ ।

तपाइँको तत्काल आउने फिल्म छ कि छैन ?

‘प्रदेशी–२’ र ‘झिँगे दाउ’ चाँडै रिलिज हुँदैछ । ‘झिँगे दाउ’ कोरोना संक्रमणका कारण रिलिज रोकिएको हो । अब सामान्य अवस्था आएपछि रिलिज हुन्छ ।

सोसल मिडियाले समाजलाई कतातिर लैजाँदैछ जस्तो लाग्छ ?

हरेक कुरामा नकरात्मक र सकरात्मक हुन्छ । त्यो आफूमा भरपर्ने कुरा हो । नकरात्मक र अपवाह फैलायो भने हामीलाई नै प्रभाव पार्छ । शोसल मिडियाबाट सकरात्मक र फाइदा नै बढी भइरहेको छ । सामाजिक सञ्जालकै कारण आज संसारसँग जोडिएका छौँ । यसलाई सकरात्मक लिनुपर्छ । दूरुपयोग कसैले गर्नु राम्रो होइन ।

पछिल्लो विकसित राजनीति घटनाक्रमलाई कसरी बुझ्नु भएको छ ?

राजनीतिले हाम्रो जीवनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । तर, दूर्भाग्य भन्नुपर्छ, राजनीतिको जिम्मेवार तहमा पुगेका नेताहरु देश र जनताका लागि नभएर आफ्नो स्वार्थमा भिडिरहेका छन् । देश चलाउने नेताहरुले देशवासीका लागि सोच्न आवश्यक छ ।

तपाइँ स्क्याण्डलबाट टाडा हुुनुहुन्छ, तर फिल्म क्षेत्रमा स्क्याण्डल पनि चाहिन्छ भनिन्छ नि ।

स्क्याण्डल वा कन्ट्रोभसी चासोको विषय हो । तर, जानीजानी कन्ट्रोभर्सी वा गसिप बन्नु हुँँदैन भन्ने मेरो मान्यता हो । कन्ट्रोभर्सी छोटो समयका लागि मात्र हो, टिकाउ हुन्न ।

तपाइँको अफेयर्सको कुरा सुनिँदैन । लुकाएर कि नभएर हो ?

अफेयर्सका कुरा भनेको पर्सनल हो । म प्रोफेसनल र पर्सनल कुरालाई अलग–अलग राख्छु । पर्सनल कुरा बाहिर ल्याउने कुरा होइन । मेरो प्रोफेसनलमा कमीकमजोरी भयो र छ भने स्वीकार्न तयार छु ।

यो प्रश्न तपाइँका फ्यानका लागि, केकीले घरजम गरिन् भन्ने समाचार कहिले सुन्न पाइन्छ ?

यो कुरा अहिलेसम्म म आफैँलाई थाहा छैन । त्यो अवस्था आयो भने पक्कै शेयर गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्