Logo
Logo

नेपाल वायुसेवा निगममा ‘रअ’ एजेन्ट ?


दृष्टि संवाददाता


काठमाडौं, १८ फागुन । नेपाल वायुसेवा निगमभित्र बेथिती बढेको छ । तर, नेतृत्व बेथितीमा संलग्न कर्मचारीलाई कारबाही भन्दा पावरका आधारमा जोगाउने खेलमा लागेको छ ।

हालै एक कर्मचारीले कोरोना पोजिटिभ भएका यात्रुलाई भारत उड्न दिएको खुलेको छ । विमानस्थलमा खटिएका कर्मचारी नरेश कुमार दासले यसरी भारत उड्न दिएका हुन् । विदेश जानुअघि अनिवार्य रुपमा ७२ घन्टाभित्र कोरोना परीक्षण गर्नुपर्छ । नेगेटिभ रिपोर्ट भएकामात्र विदेश उड्न पाउँछन् । तर, दासले पोजिभिट रिपोर्ट भएकालाई भारत उड्न दिएका थिए ।

सो कुरा खुलेपछि दासलाई कारबाहीको प्रयास भएपनि उनले आफू ‘रअ’को एजेन्ट भएको भन्दै हाकिमहरुलाई नै धम्काउन थालेका छन् । निगमका निर्देशक अनिल घिमिरे नै दासलाई जोगाउने खेलमा लागेको स्रोत बताउँछ । दास विमानस्थलमा बसेर भिजिट भिसा लगायत अनेक धन्दामा लागेकाले हाकिमहरुले उनलाई कारबाहीबाट जोगाउन खोजेका हुन् ।

जबकी यस्तै घटनामा गत पुसमा मलेसियामा कार्यरत कर्मचारीद्वय नरेशकुमार श्रेष्ठ र युवराज आचार्यलाई हटाइएको थियो । त्यतिबेला झुक्किएर एक पोजिटिभ यात्रु नेपाल एयरलाइन्सबाट नेपाल आएका थिए ।

यस्तै घटनामा नयाँदिल्ली स्टेसनका कर्मचारी नारायण पौडेललाई भने जोगाइयो । पौडेल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका भाञ्जा भएकाले उनलाई जोगाइएको हो ।

हाकिमसँग निकट भए जोगाउने र पावर नभएकालाई पेल्ने रणनीति निगमभित्र देखिएको छ । महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको व्यवस्थापन सम्हालेपछि यस्तै गतिविधिका कारण निगमन झन् ओरालो लागेको छ । महाप्रबन्धक पौडेलले निगमलाई उकास्ने कुनै नयाँ योजना ल्याउन सकेका छैनन् । निगमको नयाँ रणनीति ‘फेसबुक’मा पोष्ट गरेर आलोचना खेपेका पौडेलको सबैभन्दा ठूलो असफलता चिनियाँ जहाज ‘ग्राउण्डेड’ गर्ने निर्णय हो । जसले गर्दा चिनियाँ जहाजबाट निगमलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्