Logo
Logo

एउटा प्रजिअको कथा…


दृष्टि संवाददाता


काठमाडौं, १८ फागुन । गृह मन्त्रालयले गत शुक्रबार गरेको सिडिओ सरुवालाई गृह प्रशासनकै इतिहासमा खराब भनिएको छ । राजनीतिक प्रतिशोध र चलखेलका आधारमा निर्णय भएकाले यो सरुवाले गृह प्रशासनलाई नै भ्रष्ट बनाउने कर्मचारीहरु बताउँछन् ।

सरुवामा केहीलाई चार महिनामै हटाइएको छ । बदनाम कर्मचारीलाई सिडिओमा पठाइएको छ । जसमध्ये एक हुन् बाँकेमा वर्षाैदेखि बसेर अनियतितामा संलग्न हरि प्याकुरेल । सयौं भारतीयलाई नागरिकता दिएको आरोपमा छानबिन भइरहेका बेला उनलाई दैलेखेको सिडिओमा पठाइएको छ । उनी नागरिकतादेखि जग्गा हिनामिनामा समेत मुछिएका व्यक्ति हुन् । बाँके, खजुराको १७ बिगाहा जग्गा हिनामिनामा पनि उनको संलग्नता रहेको स्रोत बताउँछ ।

भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको हालै अनुसन्धान भइरहेको एक घटनामा पनि उनको संलग्नता भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने रमा पाण्डेको छोरा बनाएर भारतीय नागरिकहरु विनय कुमार पाण्डे, श्याम कुमार पाण्डे, पप्पु भनिने रघुवेन्द्र प्रताप पाण्डेलाई २०६२ सालमा नागरिकता दिइएको थियो । सिडिओ कार्यालयकै मिलेमतोमा यसरी उनीहरुलाई नागरिकता दिइएको थियो । जसमा तीन जना पक्राउ परेका छन् । यसका योजनाकार उनै प्याकुरेल भएको प्रहरी स्रोत बताउँछ । तर, कर्मचारीलाई जोगाउन प्रहरीलाई चर्काे दबाब आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रशासकीय अधिकृत हुँदा पनि उनले अनेक अनियमितता गरेका थिए । काञ्जिहाउसबाट दैलेखमा गाई लैजादा गाइ मृत्यु भएको घटनामा उनले नै मुख्य कर्मचारीलाई जोगाएका थिए । मुद्दा खेपेका कर्मचारीलाई समेत राज्यकोषबाटै मुद्दा लड्न खर्च दिने निर्णय उनले गराएका थिए । जिल्लाका अवैध खानीहरुमा उनकै सेटिङ चल्ने गर्दथ्यो । यस्ता व्यक्ति सिडिओ भएपछि दैलेखमा पुरै माफियागिरी चल्ने अवस्था छ । बाँकेमा हुँदा कमाएको अकुत सम्पतिकै प्रभावमा उनी सिडिओ भएका हुन् ।

त्यस्तै पटक पटक कारबाहीमा परेका गैलोचन सैंजुलाई पनि सिडिओमा खटाइएको छ । उनलाई केही महिनाअघि बाग्लुङबाट हटाइएको थियो । विमानस्थल कार्यालयका अध्यागमन प्रमुख रहँदा उनले भिजिट भिसामा हजारौंलाई सेटिङमा खाडी पठाएको खुलेको थियो । मन्त्रालयका उपसचिव रुद्र पण्डित नेतृत्वको समितिले कारबाही सिफारिस गरेकोमा मन्त्रालयले पुरस्कृत गरी रामेछापको सिडिओ बनाएको छ । मन्त्रालयले केही राम्रो काम गरिरहेकालाई हटाएको छ भने सेटिङका सिडिओलाई भने संरक्षण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्