Logo
Logo

लिबियामा शान्ति स्थापनार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
विगत ८ वर्षदेखि गृहयुद्धमा फसेको अफ्रिकी देश लिबियामा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत पहिलोपटक नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारी जाने भएका छन् । लिबिया जानका लागि राष्ट्रसंघले नेपाललाई दुई प्रहरीको कोटा दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १–१ जना जाने भएका हुन् । राष्ट्रसंघले लिने परीक्षामा सफल हुने अधिकारी त्यहाँ खटिनेछन् । जसका लागि प्रक्रिया अघि बढेको छ ।

लिबियामा शान्ति स्थापनार्थ पहिलोपटक नेपाल प्रहरीबाट खटिन लागेको नेपाल प्रहरीको युएन शाखाका एसएसपी विभूतिराज पाण्डेले बताए । सन् २०११ देखि लिबियामा आन्तरिक द्वन्द्व चर्किएपछि शान्ति स्थापनार्थ राष्ट्रसंघले सहयोग गर्दै आएको छ । लिबियामा राष्ट्रसंघबाट सैनिक नभई राजनीतिक मिसन खटिएको छ । नेपालका प्रहरी अधिकारीले कानुन निर्माणमा सहयोग गर्नेदेखि त्यहाँका प्रहरीलगायत कानुन कार्यान्वयन गराउने अधिकारीलाई सघाउनेछन् ।

केही महिनाअघि मात्र नेपाल प्रहरीले कंगो मिसनमा अवसर पाएको थियो । जहाँ अनपोल मिसनअन्तर्गत हाल चार प्रहरी अधिकारी कार्यरत छन् । कंगो मिसनमा फ्रेन्च भाषा जानेका प्रहरी मात्र जान पाउँछन् । त्यसबाहेक हाइटी, सुडान र दक्षिण सुडानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

पछिल्लो समय राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको संख्या घट्दै गएको छ । दुई वर्षअघि राष्ट्रसंघले लिने स्याट परीक्षा उत्तीर्ण गरेका सयभन्दा धेरै अधिकृत अझै जान पाएका छैनन् । नयाँ देशमा शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले पहल गर्दै आएको छ ।

हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन भने दुई महिनापछि बन्द हुँदै छ । मिसनका सामान फिर्ता ल्याउनका लागि प्रक्रिया अघि बढाइएको एसएसपी विभूतिराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्