Logo
Logo

‘गोर्खा वारियर २’ घोषणाः पर्दामा अब गोर्खालीहरुको बहादुरीको कथा


दृष्टि संवाददाता



काठमाडौं । निर्माता निर्देशक मिलन चाम्सले चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको घोषणा गरेका छन् । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रको फागुनको २३ गतेदेखि छायांकन सुरु हुने निर्देशक चाम्सले बताए ।

चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा सुरेश राई र पूर्ण लिम्बू सह–निर्माताको रुपमा रहेका छन् । चाम्सले भने–‘विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने गर्दछ । गोर्खा वारियरको नाममा विश्वमा थुप्रै ब्रान्डहरु स्थापित भैसकेका छन् । चलचित्रले गोर्खालीहरुको कथा, बहादुरी र वीरताको कथा भन्नेछ ।’

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङदेल, वुद्दि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए । शैलेन्द्र खनालको शब्द रहने चलचित्रमा एलिस कार्कीको संगीत, राजेश पायल राइको स्वर रहेको हुनेछ ।

चलचित्रमा मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन विसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ । यो चलचित्रको छायांकन मलेसिया, बेलायत र नेपालमा हुनेछ ।

मंगलबार राजधानीमा चलचित्र घोषणा कार्यक्रममा बोल्दै नव–कलाकार रितेश र नायिका रेविकाले चलचित्रमा जोडिन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकार विजय लामाले गोर्खालीहरुको बहादुरीको कथा भन्ने यो चलचित्रका लागि आफूले समय निकाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्