Logo
Logo

नेपालकाे सीमामा भारतले पनि थप्दै चेक पोष्ट


दृष्टि संवाददाता


काठमाडौं । नेपालले भारत र चीनसँगको सीमामा बोर्डर आउट चेकपोष्ट थपेसँगै भारतले पनि नेपालसँगको सीमामा पोष्ट खडा गर्ने भएको छ । भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालसँगको सीमानामा थप ५ सय ४८ पोष्ट खडा गर्ने भएको हो ।

भारतीय सञ्चारमाध्यम टाइम्स् अफ इन्डियाका अनुसार भारतले नेपाल र भुटानसँगको सीमामा १३ हजार थप फोर्स परिचालन गर्न लागेको हो ।

पटक–पटक तनाव सिर्जना हुने भारत, भुटान र तिब्बतको त्रिदेशीय क्षेत्रमा समेत सम्भावित सुरक्षा चुनौतिको सामना गर्न सुरक्षाकर्मीहरु परिचालन गर्ने समाचारमा जनाइएको छ ।

नेपालसँगको १,७५१ किलोमिटर सीमाना र भुटानसँगको ६ सय ९९ किलोमिटर खुला सीमानामा फोर्स थप्ने भारतको तयारी छ । जसअनुसार भारतले नेपाल सीमामा थप चार एकीकृत चेक पोस्ट (आइसीपी) खडा गर्ने भएको हो ।

सीमा बटालियन युनिटले सीमा पोस्टबीचको दूरीलाई घटाउने, ब्यापार बलियो बनाउने र सीमापारको सुरक्षा जोखिमलाई रोक्ने उद्देश्य लिइएको छ ।

सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय थलो दोक्लममा ७० दिन लामो तनावपछि भारतले बटालियन खडा गर्ने निधो गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्